धादिङबेसी बजारबासीका लागि माघ ५ र ११ गते विशेष दिन हुने

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २, २०७४

धादिङबेसी माघ २ । धादिङबेसी सदरमुकामलाई व्यवस्थित बनाउनको लागि माघ ५ र ११ गते विशेष दिन हुने भएको छ ।

जिल्ला प्रशासन, नगरपालिका, जिल्ला प्रहरीकार्यालय र धादिङ उद्योग वाणिज्य संघका प्रमुखहरुको वैठकले धादिङबेसी सदरमुकामलाई व्यवस्थित बनाउने विभिन्न निर्णय गरे सँगै माघ ५ र ११ गते विशेष दिन हुने भएको हो ।

धादिङवेसी वजार व्यवस्थापन सम्वन्धमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष वोदनाथ दुवाडीको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी श्री श्याम प्रसाद भण्डारी, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगाना, उपप्रमुख मनराज भण्डारी, जिल्ला प्रहरी कार्यालय, धादिङका प्रुमख ध्रुवराज राउत लगायतको उपस्थितिमा भएको संयुक्त वैठकले धादिङवेसी वजार अब्यवस्थित वन्दै गएकोले माघ ५ गते देखि लागु हुने गरी घरको सटरभन्दा वाहिर कुनैपनि सामान राख्न नपाउने निर्णय गरेको छ ।

यस्तै बैठकले धादिङवेसी वजार क्षेत्रको ट्राफिक समस्यालाई समाधान गर्न वजार क्षेत्रको चापलाई मध्यनजर गरी २०७४ साल माघ ११ गतेवाट धादिङबेसी मुल सडक दायाँ वायाँ कुनैपनि सवारी साधन पार्किङ गर्न नपाउने र स्थायी पार्किङको लागि २०७४ साल माघ १० गते भित्र नीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा पार्किङ स्थलको व्यवस्था मिलाउने निर्णय निर्याय समेत गरेको छ । यस अघि पालो गरेर १ दिन दायाँ र अर्को दिन बाँया सडक किनारमा पार्किङ गर्न पाउने नियम लागु गरिएको थियो ।

बैठकले धादिङवेसी वजार क्षेत्र भित्र मालवाहक सवारीसाधनले हरेक दिन बिहान ९ः०० देखि १०ः३० वजे सम्म र दिउँसो ३ः३० देखि ५ः०० वजे सम्म (स्कुल समय) सामान लोड अनलोड गर्न नपाउने र सामान लोड अनलोड भईरहेको अवस्थामा समेत सो समयअवधि भित्र सामान लोड अनलोड नगर्ने तथा उक्त गाडीको पार्किङ खुल्ला मञ्चमा गर्ने वा व्यवसायी आफैले व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले धादिङवेसीबजार क्षेत्र भित्र घर बनाउने निर्माण सामाग्रीका कारण सडक अव्यवस्थित र फोहोर भएको कारणले सामान अनलोड भएको २४ घण्टा भित्र सडकबाट सामान हटाउनुपर्ने र उक्त सामानका कारण सडक फाहोर भएमा सामान राख्ने व्यक्तिलेनै पुर्णरुपमा सडक सफा गर्नुपर्ने निर्णय गरेको छ ।