गल्छी–त्रिशूली–मैलुङ सडक ३ महिना दैनिक ८ घण्टा वन्द हुने

Avatar photo
Dhadingpost
शनिबार, पुस १, २०७४

धादिङ पौष १ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक योजनाले शनिवार देखि दैनिक ८ घण्टा यात्रायात संचालनमा रोक लगाएको छ । सडक सुधार योजना अन्तरगत बजार क्षेत्रमा चार लेनको सडक विस्तार गर्ने कार्य शुरु भएपछि सवारी सन्चालनमा रोक लगाईएको योजना प्रमुख सुवोधकुमार देवकोटाले बताए ।

पौष १ गते देखि आगामी फागुन मसान्त सम्म ३ महिनाका लागी दैनिक विहान ६ वजे देखि ९ वजे र अपरान्ह ११ वजे देखि सांझ ४ वजे सम्म ८ घण्टाका यातायात संचालनमा रोक लगाईएको विदुर स्थित ट्राफिक प्रहरी ईन्चार्ज अर्जुन सापकोटाले वताए । नौ अर्व ५० करोड लगानी रहेको योजना अन्र्तगत सडकको दुवै तिर पर्खाल सहित र सडक विस्तारको काम भइरहेको छ । उत्तर–दक्षिण जोड्ने छोटो नाकाको रुपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रुपमा अघि बढाई छिटै सम्पन्न गर्न ८ घण्टा सवारी साधन रोकेर पनि काम सुचारु गर्ने आयोजना प्रमुख देवकोटाले बताए ।

गत २०७२ साल मंसिर ३ गते बसेको मन्त्री परिषद्को वैठकले निर्णय गरेअनुसार यो योजना ७ मे २०१६ मा २७ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम सुरु भएपनि जग्गा अधिग्रहण, विजुलीको पोल र वन क्षेत्रका कारण आयोजना निर्माणमा ढिलाई भइरहेको छ ।

धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाई रहेको यो सडकमा अहिले ४६ किलोमिटर दूरीमा काम भइरहेको छ । सडकलाई तीन खण्डमा विभाजन गरी काम भइरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुवेशीसम्मको १८ किलोमिटरमा नेपाली सेनाले ट्याक खोल्ने काम गरिरहेको छ भने स्याफुवेशीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक चीन सरकारले बनाउने योजना रहेको छ । यो सडक तीन वटा देश जोड्ने सामरिक महत्व बोकेको योजना हो ।

यो सडकले चीनसंको व्यापारिक नाका केरुङ जोड्ने र पछि भारतसँग सीमा जोडिएको ठोरी नाका जोड्ने व्यापारिक नाकाको रुपमा विस्तार गर्ने सरकारी योजना रहेको छ । यसलाई व्यापारिक, अन्तराष्ट्रिय र त्रिदेशीय मार्ग जोड्ने महत्वपूर्ण नाकाको रुपमा लिइएको छ । फोटोः हरिहरबसिंह राठौर