डा. दिनेश धरेल,
धादिङ, त्रिपुरेश्वर
मेरो बच्चा डेढ महिनाको भयो । छ महिनासम्म आमाको दुध बाहेक अरु केही खुवाउनु हुन्न भन्ने सुनेको छु । तर आजकाल उसलाई दुध पुगेको छैन जस्तो लाग्छ । म कसरी ढुक्क हुन सक्छु कि मेरो बच्चालाई दुध पुगिरहेको छ ।
नवजात शिशुको लागि स्तनपान सम्पूर्ण आहार हो र छ महिना सम्म आमाको दुध पर्याप्त हुन्छ भन्ने कुरा तपाइँले बुझ्नु भएको छ होला । ‘मेरो बच्चालाई त मेरो दुधले पुग्दै पुग्दैन’ भन्ने गुनसो र चिन्ता सायद धेरै जसो आमाहरुलाई हुने गर्छ । कतिपयले त आफ्नो बच्चा लाई दुध पुगेन भनेर पाउडर दुध (फर्मुला) वा गार्इ भैसी को दुध खुवाउने गरेको देखेको छु । कसैले नबुझेर र कतिपयले विभिन्न प्रभाब वा दबाबले पनि स्तनपानको विकल्प वा थप आहार रोज्ने गरेका छन् ।
त्यसैले मलाई यो तपाइको मात्र होइन, सबैको साझा जिज्ञाशा होला जस्तो लाग्छ । स्तनपानको फाइदा थाहा नहुने सायदै कोहि होलान् । बच्चा जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गर्नुपर्छ र छ महिनासम्म आमाको दुध मात्रै खुवाउनु पर्छ भन्ने सन्देश मूलक सूचना हामीले दिनहुँ देख्ने वा सुन्ने गरेका छौं ।
आमाको दुध अमृत समान हुन्छ भन्ने हामी सबैले जानेको कुरा हो । बजारमा पाइने दुधको डिब्बामा समेत स्तनपान शिशु को लागि सबैभन्दा राम्रो आहार हो भन्ने सन्देश लेखेकै हुन्छ । आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु (बिक्रि वितरण, नियत्रण) एेन २०४९ ले नै तेस्तो उल्लेख गर्न अनिबार्य गराएको छ । बच्चाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खास खास रोग वा अवस्थामा बाहेक शिशुलाई स्तनपान नै गराउन सल्लाह दिनुपर्छ भनेर कानुनले नै स्वास्थ्यकर्मीहरुलाई समेत बाध्यकारी गराएको छ ।
खासगरी बच्चा रोर्इरहेको छ भने दुध नपुगेर होला भन्ने धारणा निकै ब्यापक छ । त्यसैले शिशु रुने बित्तिकै तपाइँ दुध खुवाउन खोज्नु हुन्छ होला । बच्चा रुने बित्तिकै परिवारका सदस्यहरुले आमालाई जे भए पनि खुवाउन दबाब दिने गरेको पनि हुनसक्छ ।
शिशुहरु बेल बेला त्यतिकै पनि रुन्छन र आफै शान्त हुन्छन । दुध चुसाउदा रोइरहेको शिशु धेरै जसो चुप लागेको देख्नु भएको होला । सधै त्यो भोक लागेकोले रोएको र दुधले भोक मेटिएर चुप लागेको भन्ने हुदैन । भोक लाग्नुका अलावा कहिलेकाही बच्चा दिशा पिसाब गरेर, तातो वा चिसो भएर, केही कुराले दुखाएर वा बिरामी परेर रोएको हुन सक्छन वा कोलिक भएको पनि हुन सक्छ । भोक लागेको वा दुध खान खोजेको संकेत आमाहरुले क्रमश चिन्न थाल्छन ।
नवजात शिशुलाई दुध पुगेको छ भन्ने सबैभन्दा भरपर्दो आधार भनेको दिनभर (चौबिस घण्टामा) छ देखि आठ पटक पिसाब फेर्नु हो । दुध पुगेको छैन भने पिसाब कम गर्न थाल्छ । आमाको दुधमा नब्बे प्रतिशत त पानी नै हुन्छ । त्यसैले पर्याप्त स्तनपान गर्न पाएको बच्चामा पानीको मात्रा पुगेको हुन्छ र पटक पटक पिसाब गरिरहन्छ । डायेपर लगाइदिने गरेको छ भने पिसाब फेरेको गन्न गारो हुन्छ, तर डायेपर कत्तिको भिजेको छ हेरेर पिसाबको मात्रा अनुमान गर्न सकिन्छ ।
खासगरी बच्चा जन्मेको सुरुका दिनहरुमा आमाको दुध धेरै आउदैन । त्यस्तो बिगौती दुध मात्रामा कम भए पनि अलि बाक्लो हुन्छ र उसलाई चाहिने पोषक तत्व भने पर्याप्त हुन्छ । पहिलो हप्तामा शिशुको शरीरबाट बढी भंएको पानी निकाल्नु पर्ने भएकोले दुध पनि कम मात्रामा चाहिन्छ । त्यसैले दुध आएन भनेर पाउडर दुध खुवाउन थाल्नु हुदैन । बरु बोतलबाट अरु दुध खुवाउन थाल्यो भने बच्चाले आमाको दुध चुस्न कम गर्दै जान्छ र क्रमश दुध नै कम आउन थाल्छ ।
पहिलो हप्तामा नवजात शिशुको तौल जन्म तौल भन्दा घट्दै जान्छ र तेस्पछि क्रमश बढ्दै जान्छ । स्तनपान मात्र गराएको शिशुको तौल महिनामा लगभग आधा किलो बढेको छ भने स्तनपान पर्याप्त छ भन्ने बुझ्नु पर्ने हुन्छ । स्वास्थ्य संस्थामा जन्मेको हरेक बच्चाको जन्म तौल लिने गरिन्छ र खोप लगाउन आउदा पनि हरेक पटक तौल लिइन्छ । डेढ, अढाई र साढे तीन महिनामा खोप लगाउदा तौल कुन दरले बढिरहेको छ भनेर ख्याल गर्ने हो भने आमाको दुध पुगे नपुगेको सजिलै थाहा पाउन सकिन्छ । पाँच महिना पुग्दा बच्चाको तौल जन्मतौलको प्राय जसो दोब्बर भएको हुन्छ । तौल उमेर अनुसार बढे नबढेको चार्टमा राखेर हेर्न सकिन्छ ।
शिशुलाई दिनमा कति पटक स्तनपान गराउदा पर्याप्त हुन्छ भन्ने कुरा आमाहरुलाई हुने अर्को मुख्य जिज्ञासा हो । जन्मदा कम तौल भएको, उमेर अनुसार तौल नबढेको वा बिरामी परेको नवजात शिशुलाई चैबिस घण्टामा कम्तिमा आठ पटक दुध खुवाउनु पर्छ र रातमा समेत खुवाउनु पर्छ । प्रत्येक दुइ तीन घण्टाको फरकमा स्तनपान गर्न वा दुध निचोरेर खुवाउन प्रयास गर्नु पर्छ । एउटा स्वस्थ शिशुलाई भने उसको माग अनुसार स्तनपान गराउनु पर्छ तर रातिको समयमा पनि दुध खुवाउन भने छोड्नु हुदैन ।
एक पटकमा यौटा स्तनबाट नारित्तुन्जेल दुध खुवाउनु पर्छ किनकि बच्चाको तिर्खा मेटाउने खालको पानी बढी हुने दुध शुरुमा आउछ र चिल्लो पदार्थ बढी भएको भोक मेटाउने खालको दुध पछि आउछ । दुवै दुधबाट अलि अलि गरेर चुसायो भने शिशुलाई अघाएको आभास हुदैन र भोकाए जस्तो गरेर रुन्छ । अर्को पटकको लागि अर्को स्तन चुसाउनु पर्छ ।
पहिलो पटक आमा बनेका धेरै जसोका लागि स्तनपान शुरु गराउन अलि गारो हुने गरेको पाइन्छ । आखिर हामी सबैले कुनै पनि कुरा एक पटक त पहिलो चोटी नै गर्ने हो । बच्चाले जन्मने बित्तिकै दुध चुस्न खोज्छ र बिस्तारै यो कलामा पारङ्गत हुन्छ । आमाको लागि पनि यो सजिलै सिक्न सकिने सीप हो । तर सुरुका दिनहरुमा आमा र बच्चालाई स्तनपानमा सहायता चाहिन्छ । हामी स्वास्थकर्मी र परिवारका सदस्यहरुको भूमिका भनेको यो बिशेष समयमा आवस्यक सहयोग गर्नु हो ।
सफल स्तनपान को लागि महत्वपुर्ण आधार भनेको सहि आसन र सहि स्तन सम्पर्क हो । सहि आसन भन्नाले शिशु आमा तिर फर्केको हुनुपर्छ, टाउको र शरिर सिधा र राम्ररी समातेको हुनु पर्छ र शिशु स्तन को सकेसम्म नजिक हुनुपर्छ । यो आसन मा जव शिशु ले आफ्नो चिउदो ले आमाको स्तन छोएर मूख पुरा खोल्छ, तल्लो ओठ बाहिर पार्छ र स्तन को कालो भाग सकेसम्म धेरै मुख भित्र पारेर चुस्न थाल्छ, तेस्पछि दुध आउछ । यसरी सहि तरिका ले धुटुक घुटुक दुध निलेको आवाज सहित सन्तुस्ट हुने गरी दुध खाइदिदा आमा लाई पनि सन्तोष हुन्छ र आत्मविश्वास बढ्छ ।
तर आसन र स्तन सम्पर्क सहि भएन भने पर्याप्त दुध आउदैन र शिशु भोकै हुने मात्र हैन रिसाउन पनि थाल्छ । शिशुले दुध चुसेको छैन भने दुध बन्ने प्रक्रिया पनि रोकिन्छ र क्रमश स्तनपान नै रोकिने सम्भावना हुन्छ । स्तनको टुप्पोमा घाउ हुने र तेस्ले गर्दा गनिने, पाक्ने जस्ता समस्या पनि आउन सक्छ । त्यसैले स्तनपानमा समस्या आउदा समयमा नै उपयुक्त बेस्बथापन हुन जरुरि छ । शुरुका दिनमा आउने यी समस्या निराकरण गर्ने सके दुध पुगेन भन्ने अबस्था नै आउदैन ।
कथम्कदाचित बैकल्पिक दुध खुवाउनु पर्ने भए पनि बोतलबाट खुवाउनु हुदैन । बोतलको निप्पलबाट दुध सजिलै बच्चाको मुखमा आउने हुदा आमाको स्तनबाट चुसेर निकाल्न अल्छी गर्न थाल्छ र त्यसपछि स्तनपान नै रोकिने हुन्छ । दुध सहि तरिकाले बनाउन र सरसफाईमा ध्यान पुर्याउन नसक्दा बच्चाको ज्यान नै जोखिममा पर्न सक्ने सम्भावना त छदै छ ।
आमाको दुधमा शिशुलाई चाहिने सबै थरि पोषक तत्व पाइने, अरु दुधभन्दा पचाउन सजिलो हुने, रोगसंग लड्ने प्रतिरक्षा प्रणाली मजबुत बनाएर संक्रमण घटाउने र आमा बच्चाको आत्मियता मजबुत हने बाहेक आमाको स्वास्थ्यमा समेत फाइदा पुर्याउने भएकाले छ महिनासम्म आमाको दुध मात्रै खुवाउन र त्यसपछि पनि थप आहारसंगै स्तनपान जारि राख्न जरुरि छ ।
धादिंग, त्रिपुरेश्वर-१ निवासी बालरोग बिशेषज्ञ डा धरेल हाल बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धारानमा कार्यरत छन् l