धादिङ, असोज २१ । जिल्ला कृषि विकास कार्यालय धादिङले किसानहरुको लागि बितरण गरेको हर्दिनाथ जातको धानको गलत बिउ, धान हैन भुस फल्यो भन्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
धान उत्पादनमा क्षति भएका किसानहरुको पहिचान गरी सरकारले तत्काल उचित क्षतिपूर्ति दिनु पर्ने भन्दै धादिङका किसानहरुले जिल्ला कृषि विकास कार्यालय धादिङ मार्फत कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
धान भित्र्याउने समयमा धानमा बाला नलागे पछि खाद्य असुरक्षा साथै परिवारको पालन पोषणमा समेत समस्या उत्पन्न देखिएको ज्ञापन पत्रमा उल्लेख गरेको छ । जिल्ला कृषि बिकास कार्यालय धादिङले आर्थिक बर्ष २०७२-७३ मा किसानहरुलाई ५० प्रतिशत अनुदानमा १ दशमलब ८५ मेट्रिकटन हर्दिनाथ १ जातको धानको बीउ किसानहरुलाई वितरण गरेको थियो ।
कृषि बिकास कार्यालय धादिङले अनुदानमा बाडेको धानको बीउ नीलकण्ठ नगरपालिका, त्रिपुरेश्वर र सलाङ गाविसका किसानहरुले खेतबारीमा लगाएका थिए । कार्यालयले वितरण गरेको धानको बीउ किसानहरुले करिब ३७ हेक्टर खेतमा लगाएको र सामान्य अबस्थामा धान उत्पादन हुँदा सरदर उत्पादन १ सय ११ मेट्रिक टन भन्दा बढी उत्पादन हुनु पर्ने थियो ।
जिल्ला कृषि बिकास कार्यालय धादिङले अनुदान स्वरुप बितरण गरेको धानको बीउबाट बाला नलागे पछि अहिले धादिङका किसानहरु चिन्तित भएका छन् । ज्ञापनपत्रमा बीउ वितरण गर्दा उत्पादन तथा वितरण गर्ने संस्थाले क्षतिपूर्ति ब्यहोर्ने ब्यबस्था ग्यारेन्टी लिनु पर्ने जस्ता ४ बुदे माग राखेका छन् ।