धादिङ असोज २०-
अस्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार राति सकिएको खेलमा तीन सय ७२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई चार विकेटले हराएको हो ।
दक्षिण अफ्रिकाले एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै दोस्रो उच्च स्कोरको लक्ष्य पूरा गरेको हो । दक्षिण अफ्रिकाले ४९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । उसका लागि डेविड मिलरले नटआउट एक सय १८ तथा क्विन्टन डी ककले ७० रन बनाए ।
यस्तै हाशिम अमलाले ४५ तथा कप्तान फाप डु प्लेसिसले ३३ रनको योगदान दिए । अस्ट्रेलियाका जोन हेस्टिंग्सले दुई विकेट लिए । यसअघि डर्बनमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा तीन सय ७१ रनको विशाल योगफल तयार पारेको थियो ।
उसका लागि डेविड वार्नरले एक सय १७ र कप्तान स्टिभन स्मिथले एक सय ८ रनको योगदान दिए । घरेलु टोली दक्षिण अफ्रिकाका डेल स्टेन र इमरान ताहिरले दुई दुई विकेट लिए । पाँच एक दिवसीयको श्रृँखलामा ३–० को अग्रता लिएको छ ।
एक दिवसीय क्रिकेटमा सबै भन्दा धेरै रनको लक्ष्य पछ्याएर पूरा गर्ने पनि दक्षिण अफ्रिका नै हो । सन् २००६ मा अस्ट्रेलियाले प्रस्तुत गरेको चार सय ३५ रनको लक्ष्य पूरा गर्ने क्रममा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा चार सय ३८ रन बनाएको थियो ।