धादिङ भदौ ४ –
नेपाली काँग्रेसले थप मन्त्रीको नामावली मङ्गलबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने तयारी गरेको छ ।
नेपाल विद्यार्थी सङ्घको महाधिवेशन लम्बिँदा काँग्रेसबाट सरकारमा पठाउने नाम छनोटमा ढिलाइ भएको थियो । महाधिवेशन सम्पन्न भएकाले सम्भावित मन्त्रीहरूको नामावली पार्टी सभापति शेरबहादुर देउवाले तयार गरेको जानकारी उनीनिकट एक केन्द्रीय सदस्यले दिए। आजको गोरखापत्रमा खबर छापिएको छ।
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसलाई १३ वटा मन्त्रालय भागमा परेको छ । त्यसमा उपप्रधानसहित गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखक नियुक्त भइसकेका छन्।
अब काँग्रेसले ११ मन्त्रालयमा मन्त्रीको नाम पठाउने छ। यसका लागि मन्त्रालयको सङ्ख्याभन्दा दोब्बर सांसदको नाम सम्भावित मन्त्रीका लागि तयार छ। एक केन्द्रीय सदस्यका अनुसार, काँग्रेसले पठाउन लागेका सम्भावित मन्त्री र राज्यमन्त्रीको सूची लामो छ, त्यसबाटै मन्त्री हुने सम्भावना बढी छ ।
हिमाल, पहाड, तराईदेखि क्षेत्रीय र जातीय सन्तुलन मिलाउनका लागि सभापति देउवालाई निकै कठिन परेको दाबी ती केन्द्रीय सदस्यको छ ।
मन्त्रीको टुङ्गो लगाएपछि सभापति देउवाले पार्टीको उपसभापति, महामन्त्री, सहमहामन्त्री एक एक जना नियुक्त गर्ने तयारी पनि गरेको जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए। काँग्रेसले पार्टी प्रवक्तासमेत नियुक्त गरेको छैन ।