
धादिङ । देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग र छेवैको त्रिशूली नदीकिनार आसपासका खेतका केही गराहरूमा टन्न बन्दा छ, केहीमा बन्दा हटाएर भर्खरै चैते धान रोपिएको छ । धान रोपिएका गराका बन्दाले बजार पाएर उठाइएको होइन, मूल्य नपाएपछि फाँडेर त्रिशूली नदीमा मिल्काउन किसान बाध्य भएका हुन् । मूल्य नपाएका किसानले मिल्काएको सयौँ टन बन्दा खेतछेउदेखि त्रिशूली किनारसम्म देखिन्छ ।
किसानको उत्पादनको जिम्मा राज्यले कहिल्यै लिँदैन, बिचौलियाको हातमा हुन्छ । बिचौलियाले मूल्य नदिए किसानले पुर्पुरोमा हात समाउनुको विकल्प छैन । लगानी र श्रम बित्थैमा खेर फाल्न बाध्य किसान भन्छन्– ‘ट्याक्टर, मल र बिउमै प्रतिकेजी पाँच रुपैयाँ लागत प¥यो, तर एक रुपैयाँमा पनि बिकेन । किसान सधैँ मरिरहने हो सरकार ?
धादिङको गजुरी गाउँपालिका– ५, गजुरीका हरिशरण धितालले सात रोपनी जग्गामा बन्दा खेती गरेका थिए । पहिलो लटमा प्रतिकेजी तीन रुपैयाँका दरले थोरै बन्दा बिक्री गरे पनि बाँकी सबै उत्पादन त्रिशूली नदीको किनारमा फालेका छन् । ‘सात रोपनी जग्गामा बन्दा खेती गर्दा ६० हजार खर्च भएको छ । यसमा आफ्नो मेहनतको मूल्य त जोडेकै छैन,’ उनले भने, ‘रात–दिन नभनी खटेर उत्पादन गरेको बन्दा प्रतिकेजी एक रुपैयाँमा पनि बिक्री भएन । दुई–तीन रुपैयाँमा बेच्न पाएको भए पनि मल र बिउको पैसासम्म उठ्थ्यो । नबिकेपछि काटेर त्रिशूलीकिनारमा फालेका छौँ ।’
अहिले मूल्य नपाएको बन्दाले पछि पाउन सक्थ्यो । तर, त्यसलाई जोगाउन कोल्डस्टोर चाहिन्छ । उत्पादन भण्डारण गर्ने कोल्डस्टोर नहुँदा बन्दा त्रिशूलीमा फालेर खेतमा धान रोप्न लागेको धितालले बताए ।
सोही ठाउँका अर्का किसान मथुरा श्रेष्ठले पनि बजार पठाउनुपर्ने बन्दा त्रिशूलीमा मिल्काएर खेतमा चैते धान रोपेका छन् । धानमा पानी लगाउन खेतमा आउँदा त्रिशूली किनारमा देखिने बन्दाको थुप्रोले मन भक्कानिने गरेको उनले सुनाए । ‘फलेको बन्दा काटेर त्रिशूलीमा फालेर चैते धान रोपेको छु । धानमा पानी लगाउन खेतमा आउँदा काटेर फालेको बन्दाको थुप्रो देख्दा मन भक्कानिन्छ, आँसु झर्छ,’ उनले भने, ‘केजीको एक रुपैयाँमा पनि बिक्दैन । कृषिप्रधान देशमा किसान सधैँ मरिरहनुपरेको छ ।’
रोप्ने वेला मल तथा बिउको अभाव खेप्नुपर्ने र उत्पादनपछि बिक्री नहुने मार भोग्नुपर्ने उनको गुनासो छ । ‘न बेलैमा मल, बिउबिजन पाइन्छ । न फलेको कृषि उत्पादन बिक्री हुन्छ । महिनौँ लगाएर रात–दिन नभनी उत्पादन गरेको कृषिउपज खोलामा फाल्नुपरेको छ,’ उनले भने, ‘किसानलाई सरकारले नै हेरेन । हामीलाई मारेको त सरकारले नै हो।’
७४ वर्षीय विष्णु श्रेष्ठ प्रतिकेजी पाँच रुपैयाँमा बन्दा बिक्री भएको भए लगानी उठ्ने बताउँछन् । उनले पनि केही बन्दा काटेर फालिसके, केही खेतमै छ । ‘मेरो खेतमा २० टनभन्दा धेरै बन्दा होला । माग छैन भनेर व्यापारी आउँदैनन् । आफू लगेर बेच्न सकिँदैन,’ उनले भने, ‘पाँच रुपैयाँले मात्रै बेच्दा पनि मल, बिउ, ट्याक्टर खर्चलगायत लगानी उठ्थ्यो । तर, मूल्य नपाएपछि केही काटेर फालिसकेँ, केही खेतमै सुक्ने अवस्थामा पुगेको छ । न धान रोप्न पाउनु, न बन्दा बेचेर पैसा कमाउनु भएको छ ।’
७४ वर्षीया गोमा श्रेष्ठ अझै पनि बन्दा बिक्छ कि भन्ने झिनो आशामा छिन् । ‘धेरैले काटेर त्रिशूलीमा फालिसके । मेरो आठ रोपनी जग्गामा तरकारी खेती छ । मैले चाहिँ दुई–चार रुपैयाँमा बिक्री हुन्छ कि भनेर खेतमै राखेकी छु । त्यति धेरै दुःख गरेर फलाएको तरकारी काटेर चाहिँ फाल्दिनँ । बरु खेतमै कुहिएर जाओस्,’ उनले भनिन् ।
खेती गर्दा मल र बिउ नपाएको पीडा ताजै रहेको उनी बताउँछिन् । ‘बिरुवा जन्माउन, सार्न तथा गोडमेलका लागि पनि थुप्रै खर्च भएको छ । बन्दा हेर्दा खाऊँ–खाऊँजस्तो छ । आफूले खाएर सकिँदैन, व्यापारीले लाँदैनन्,’ उनले भनिन्, ‘तर, म त्रिशूलीमा फाल्ने सोचमा छैन । केही समय राख्दा दुई–चार रुपैयाँ आए बिउको पैसा तिरौँला, नबिके खेतमै कुहिन्छ ।’
गजुरीका किसानजस्तै धादिङका धेरै ठाउँका किसानले मूल्य नपाएर कृषिजन्य उत्पादन काटेर फालेका छन् । समयमै बिउबिजन तथा मल नपाएर आजित भएका किसानलाई कृषिजन्य उत्पादन बिक्री नहुँदा काटेको घाउमा नुनचुकजस्तै बनेको छ । धादिङले संघीय राजधानी काठमाडौंमा ठुलो परिमाणमा तरकारी निर्यात गर्छ । तर, बिचौलियाको हालिमुहाली हुँदा किसानले उत्पादनको उचित मूल्य पाएका छैनन् । उत्पादित तरकारी तथा फलफूल हरेक वर्ष बिक्री–वितरण नभएर काट्ने, फाल्ने, ट्याक्टर लगाउने किसानको नियति दोहोरिरहेको छ । किसानहरू यो समस्या समाधानका लागि तीनै तहको सरकारको ध्यान पुग्ने दिन कुरिरहेका छन् । अर्जुन श्रेष्ठको यो समाचार हामीले नयाँ पत्रिकाबाट लिएका हौं ।