बाबुराम श्रेष्ठ,
धादिङबेसी जेष्ठ १२ । पानी नपरेको कारण धादिङ जिल्लामा ३५ प्रतिशत मात्र मकै रोपाई भएकोे छ । लामो समय सम्म खडेरी र कारण धादिङका किसानहरुको ६५ प्रतिशद खेतबारी बाँझै भएको हो ।
कुल ८ हजार ९ सय २८ हेक्टर क्षेत्रफल जमिनमा मात्र मकै रोपाई भएको छ भने पानी नपरेकै कारण ५ हजार ९ सय ५२ हेक्टर क्षेत्रफल जमिन भने बाँझै रहेको कृषि कार्यालयले बताएको छ । मकैको सिजन अनुसार धादिङका किसानहरुले बसन्ते मकै र बर्षे मकै गरी बर्षको दुई पटक मकै आफ्नो खेतबारीमा रोप्ने गदर्छन ।
यसै गरी बसन्ते मकै खेती योग्य जमिन ४ हजार १ सय ८० क्षेत्रफल रहेको छ भने बर्षे मकै १४ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमा किसानहरुले मकै खेती गर्ने गरेका छन् । तर आर्थिक बर्ष २०७२-७३ सालमा भने समयमै पानी नपरेका कारण ७० प्रतिशत बसन्ते मकै बालीमा क्षति पुगेको जिल्ला कृषि बिकास कार्यालय धादिङले जनाएको छ ।
यस्तै २ हजार ६ सय ९३ जमिनमा चैते धानको रोपाई हुने भए पनि २ हजार २ सय ८९ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ । ४ सय ४ हेक्टर क्षेत्रफलमा रोपाई हुनसकेको छैन् भने चैते धान रोपाईमा २५ प्रतिशत क्षति भएको छ ।
त्यसैगरी ७ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा २० प्रतिशत क्षति, बर्षे फलफूल अन्तर्गत ८ सय १० हेक्टर क्षेत्रफलमा २५ प्रतिशत क्षति, र तरकारी बसन्ते बाली अन्तर्गत १ हजार ९ सय ६५ हेक्टर क्षेत्रफल लगाइएको बालीमा ४० प्रतिशतको क्षति भएको छ ।
समय मै बर्षा हुन नसक्दा अघिल्लो बर्षको तुलनामा यस बर्ष धेरै किसानहरुको खेतबारी बाँझै रहेको छ । खेती योग्य जमिनमा खेती गर्न नपाउँदा धादिङ जिल्लामा भोकमरीको समस्या उत्पन्न हुने सम्भावना समेत देखिएको छ ।