बद्री अधिकारी,
काठमाडौंं चैत्र २६ । दोश्रो युरोक-२०१६ राजधानीमा शुरु भएको छ । नेपाल एसोसियसन अफ युरोलोजिकल सर्जन्स (नाउस) को आयोजनामा हरेक दुई बर्षको अन्तरालमा हुने युरोकोन को यो दोश्रो सम्मेलन हो ।
तिन दिने सम्मेलनको ‘ प्रि कन्फ्रेन्स लाईभ अपरेटिभ वर्कशप ’ आज ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा गरिएको छ । बाँकी दुइदिन भोली २६ गते र पर्सी २७ गते बैज्ञानिक कार्यपत्रहरुमाथिको छलफल भने होटल हायातमा हुने बताइएको छ ।
प्रि कन्फ्रेन्स बर्कशपमा आज युरोकोनका साइन्टिफिक चेयरम्यान समेत रहनुभएका बरिष्ठ युरोसर्जन प्रा.डा. प्रेमराज ज्ञवालीसँगै भारतबाट आउनुभएका युरोसर्जन डा. कान्दर्भ पारिख र डा. प्रभाकर मुनीअप्पन र चीनबाट आउनुभएका युरोसर्जन प्रा. डा. चुन सियाओ लीउले ६ वटा शल्यकृया गर्नु भएको थियो ।
उहाँहरुले पाँचवटा रेट्रोग्रेड इन्ट्रा-रेनल सर्जरी र एउटा प्रोस्टेट सर्जरी गर्नुभएको थियो । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको ११ तल्लामा रहेको अपरेशन थियटरबाट सम्मेलन स्थल अस्पतालकै दोश्रो तल्लामा रहेको सभाकक्षमा प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।
देश बिदेशका नयाँ युरो-सर्जनहरुलाई युरोलोजिकल सर्जरीको क्षेत्रमा हाँसिल भएका पछिल्ला उपलब्धि र नयाँ प्रबिधिबारे प्रशिक्षण दिने उद्देश्यले आयोजना गरिएको प्रा.डा. प्रेमराज ज्ञवालीले जानकारी दिनुभएको छ ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको युरोलोजी तथा किड्नी ट्रान्सप्लान्ट बिभागका प्रमुख समेत रहनुभएका प्रा.डा. ज्ञवालीले पत्रकारहरुसँग कुराकानीगर्दै युरोलोजीसँग सम्बन्धित कुनैपनि उपचारकालागि बिदेश जानुपर्ने बाध्यता नरहेको र विश्वस्तरको उच्च प्रबिधिबाट हुने कुनैपनि उपचार अब नेपालमा नै सम्भव रहेको समेत दाबी गर्नुभएको छ ।
सम्मेलनमा नेपाल, भारत, चीन, कुवेत, सिंगापुर र न्यूजिल्यान्डका १५० जनाभन्दा बढी युरो सर्जनहरुको सहभागिता रहेको छ ।