भारतीय नाकाबन्दी खुल्यो । तर नाकाबन्दीबाट त्रसित नेपाली मन अझै खुलेको छैन । न नाकाबन्दी लाग्दा नाकाबन्दी लगाउने घोषणा गरियो, न त खोल्दा नै खुलेको घोषणा भयो । अघोषित रुपमै खुलेको हुँदा खुलेको हो होइन भन्ने कुरामा पनि अझै आमजनमानसमा आशंका छ । तथापि नाकाबन्दी लगाउनु अगाडि जसरी वीरगञ्ज नाकाबाट सामान निकासी पैठारी हुन्थ्यो त्यसैगरी निकासी पैठारी हुन थालेकोले नाकाबन्दी खुलेको भन्न सकिने भयो ।
आखिर नेपालमाथि भारतले नकाबन्दी किन ग¥यो यो रहस्यकै गर्भमा छ । पर्दापछाडि जे जे रहस्य भए पनि पर्दाअगाडि चाहिँ नेपालले घोषणा गरेको संविधान र त्यो संविधानमा मधेशवादी दलको असन्तुष्टिसँग देखाइयो । त्यही पनि प्रष्ट भनिएन । बरु भारतीय अधिकारीहरुद्वारा मधेशवादी दलले नाकाबन्दी गरेको भनियो । मधेशवादी दलले पनि त्यसलाई सकारे । जसले जे भने नि जे सकारे पनि नाकाबन्दी भारतले गरेको हो भन्ने सबैलाई थियो । नाकाबन्दी लगाउनुको कारण बाहिर भनिएको मात्र थिएन भन्ने नेपाल भारत सम्बन्धका जानकारहरुले पनि मत छँदै थियो । जसरी नाकाबन्दी लागाउनुको दृश्यमा देखाएइको कारण मात्र थिएन त्यसैगरी खोलिनुको कारण पनि मधेशवादी दलले खोलेको जस्तो देखिए पनि नाकाबन्दी खोल्नुको कारण त्यति मात्र छैन । के थिए नकाबन्दी खुला हुनुको कारण ?
सेफ ल्याण्डिङको खोजी: संविधान निर्माणको सन्दर्भमा आफ्नो सल्लाह नलिएको र नेपालले नमागी सल्लाह दिँदा पनि नेपालले नमानेको झोँकमा नेपालमाथि भारतले नाकाबन्दी ग¥यो । तर त्यसको परिणाम भारतले सोचे जस्तो भएन । न त नेपाल भारतसँग झुक्यो न त भारतले अन्तर्राष्ट्रिय समर्थन नै पायो । बरु नेपालमा विगतमा चुलिएको मोदी “पपुलारिटी” ह्वात्तै गि¥यो । यसबाट भारत पनि आफूले गल्ती गरेको महसुस गर्दै थियो, तर प्रष्ट भन्न सकिरहेको थिएन । जसरी सानो निहुँमा नाकाबन्दी गरियो, त्यसैगरी सानो निहुँ पाए नाकाबन्दी खोल्ने मुडमा भारत थियो । यस्तै असामाञ्जस्य परिस्थितिमा मधेशवादी दलको मनमुटाव र बेमेलकै अवस्थामा राजेन्द्र महतो अघि सरेर नाकाबन्दी खोल्नुपर्छ भन्नासाथ भारतलाई सेफ ल्याण्डिङ गर्ने अवसर मिल्यो र नाकाबन्दी खुल्यो ।
नेपालका प्रधानमन्त्रीको अडान: प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुनुअगाडि स्पष्ट अडान भएका नेता भनिन्थ्यो । प्रधानमन्त्री भएपछि भने उनलाई धेरैले बोलीको ठेगान नभएको नेता भन्न थाले । तर भारतसँगको नाकाबन्दीको सन्दर्भमा भने उनी फेरि स्पष्ट अडान भएकै नेता देखिए । उनले भारतसँग घुँडा टेकेनन् । बरु पद छोड्ने तर भारतसामु घुँडा नटेक्ने आफ्नो अडान कायम मात्र राखेनन्, नाकाबन्दी नखुली भारत नै नजाने भनेर सार्वजनिक अभिव्यक्ति नै दिए । नेपालको प्रधानमन्त्रीलाई पहिलो विदेश भ्रमण आफ्नो देशबाट सुरु गराउने विगतको परम्परालाई निरन्तरता दिन नाकाबन्दी बाधक भएपछि भारत नाकाबन्दी खोल्न बाध्य भयो ।
नाकाबन्दीको प्रभावहीन दबाब: नाकाबन्दी भारतले नेपाल सरकारलाई दबाब दिन फालेको कार्ड हो । तर भारतले फालेको यो कार्डले नेपाल सरकारलाई अपेक्षाकृत दबाब परेन । रक्सौल नाका बन्द भए पनि अन्य नाकाबाट ल्याइएको इन्धनले सरकारी गाडी मजाले चले । उच्च पदस्थका चुला बले । न त सरकारी उच्च पदस्थहरुले घण्टौँ लाइनमै बस्नु प¥यो । बरु यसबाट नेपाली जनतालाई भने राम्रै सास्ती भयो । सर्वसाधारणले भने कि त घण्टौँ लाइन बस्नु प¥यो कि त चर्को मूल्य तिरेर कालो बजारीयाहरुको व्यवसाय मौलाउन सहयोग गरिदिनुप¥यो । सरकार भाषणमा मस्त भयो । जनताले सास्ती भोगे । कालोबजारिया मोटाए । सररकारलाई दबाब दिन चालको कदम जनतको सास्ती मात्र भयो । त्यसले भारतलाई लाग्यो होला, आफूले हानेको तीर ठीक ठाउँमा परेन । उल्टो कामको परिणाम उल्टो आयो । भारतको भागमा नेपाली जनताको आक्रोश शिवाय केही परेन । यसकारण भारत नाका खोल्ने मनस्थितिमा पुग्यो ।
मोदीप्रति नेपालीको आक्रोश: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री भएपछि गरेको नेपालको भ्रमणबाट नेपालमा मोदीको लोकप्रियता बढेको थियो । नेपाली जनताहरु “हाम्रा नेता पनि मोदी जस्तो भए पो देश बन्छ” भन्न थालेका थिए । तर नाकाबन्दी अघि शिखरमा पुगेको मोदी लोकप्रियता नाकाबन्दीपछि एकै पटक पातालमा पुगेर बिलायो । हिजो आँखा चिम्लेर मोदीको प्रसंशा गर्ने तिनै नेपाली जनता मोदीको पुत्ला जलाउन थाले । यस्तो परिस्थितिमा मोदी सरकारसँग नाकाबन्दीबाट पछि हट्नुको अर्को विकल्प थिएन ।
मधेशी मोर्चामा देखिएको फुट: मधेश आन्दोलन सुरुमा जति सशक्त थियो पछिल्लो समय कमजोर हुँदै गयो । फोरम लोकतान्त्रिक पहिले नै मोर्चामा सहभागी भएन । केही समय आन्दोलन गरे पनि उसले छुट्टै आन्दोलन ग¥यो र पछि त सरकारमै सहभागी भयो । मधेशी मोर्चामा रहेका दलहरुले पनि एकले अर्काको अस्तित्वलालाई खुलेर स्वीकार गरेको देखिएन । न त आन्दोलनको नेतृत्व गर्ने सर्वस्वीकार्य नेता नै देखियो । एकले अर्कोलाई विश्वासको आँखाले हेरेको नि पाइएन । बरु नेताहरुका एक आपसमा विवादास्पद अभिव्यक्तिहरु आइरहे । पछिल्लो समय नाका खुल्ने बेलासम्ममा त उनीहरु बीच निकै दुरी बढिसकेको थियो । एकले अर्कालाई कारवाहीसम्मको निर्णय गर्ने स्थितिमा मधेशी मोर्चाका घटकहरु पुगे । परिणाम नाकाबन्दी प्रभावहीन बन्दै गयो र औपचाारिक रुपमा नाकाबन्दी खोल्ने निर्णय निर्णय समेत लिन नपाउँदै रक्सौल नाका खुल्यो ।
लामो आन्दोलन र वीरगञ्जबासीको आक्रोश: मधेश आन्दोलन जति समय होला भन्ने सोचिएको थियो त्योभन्दा लामो भयो । हुन त नाका खुले पनि मधेशवादी दलले अझै आन्दोलन नसकिएको दाबी गरिरहेका छन् । अहिलेसम्मको मधेश आन्दोलनको उपलब्धि के भयो त्यो आन्दोलनकारी दललाई बाहेक अरुलाई थााहा भएन । तर सबैले थाहा पाएको कुरा चाहिँ यो आन्दोलनबाट आमनागरिकले भने सास्ती खेप्नुप¥यो । राजधानीले एउटा इन्धन अभावको सास्ती खेप्नु परे पनि मधेशले भने सबै प्रकारका सास्ती खेप्यो । दबाब राजधानीलाई भनियो कष्ट मेधेशले पनि त्यत्तिकै पायो । बीरगञ्ज क्षेत्र त झनै आन्दोलनको थप मारमा प¥यो । वीरगञ्जको बन्दव्यापार ठप्प भयो । यसले गर्दा वीरगञ्जका व्यापारी र सर्वसाधारणको समेत सहानुभूति मधेश आन्दोलनले गुमाउँदे गयो । मधेशीलाई मधेशकै समर्थन नभएपछि नाका खोल्नुको विकल्प रहेन ।
विहारका क्षेत्रीय दलसँगसँग मधेशी दलको सहयोग याचना: नाकाबन्दी भारतको केन्द्रीय सरकारले लगाएको हो । नाकाबन्दी झण्डै पाँच महिना चल्यो । सायद थप समय नाकाबन्दीका लागि भारतको केन्द्रीय सरकारको सहयोग नपाइने संकेत बुझेरै हुनुपर्छ, मधेशवादी दल विहारकेन्द्रित दलसँग नाकाबन्दीमा सहयोग माग्न पुगे । मधेशी दलको यो व्यवहारबाट भारतको केन्द्र सरकार खुसी हुने कुरा थिएन । फलतः नाकाबन्दीको निरन्तरतामा केन्द्र सरकार उदासिन भयो । यसले नकाबन्दी खोल्ने कुरालाई थप मलजल भयो ।
नेपालप्रतिको अन्तर्राष्ट्रिय सहानुभूति: भारतले नेपालमा गरेको नाकाबन्दीलाई अन्तर्राष्ट्रिय समुदायले एकदमै नजिकबाट नियालेको मात्र होइन, नेपाली जनताले पाएको दुखप्रति सहानुभूति प्रकट गरेको थियो । पश्चिमा मुलुकले पटक पटक नेपालमा मानवीय संकट उत्पन्न हुनसक्ने तर्फ ध्यानाकर्षण गरेका थिए । भारतप्रति प्रत्यक्ष विरोधको भाषा नबोले पनि भारतको व्यवहारमा कसैले पनि समर्थन गरेको पाइएन । चिनले पनि उत्पन्न संकटमा सहयोग गर्ने वचनवद्धता व्यक्त मात्र गरेन केही सहयोग समेत ग¥यो । यी सबै कारणले पनि भारतलाई नाकाबन्दी खोल्न कुटनीतिक दबाब परिरहेको थियो ।
तपसिलमा अन्य थुप्रै कारणह रहे पनि नाकाबन्दी खोल्नुपछाडिका प्रमुख कारण यिनै हुन् । अनपेक्षित नाकाबन्दीको परिणाम पनि अनपेक्षित नै रह्यो र खुला पनि अनपेक्षित नै भयो । समग्रमा यो नाकाबन्दी हात लाग्यो शून्य भए पनि यसको प्रभाव भने दुरगामी हुनेछ ।




