व्यंग्य गर्न एमाओवादी बैठकमा कथै कथा

Avatar photo
Dhadingpost
सोमवार, पुस २०, २०७२


maoist-headquqter२७ मंसिर ०७१ मा सुरु भएको एमाओवादीको केन्द्रीय समितिको बैठक ७ पुस ०७२ मा सम्पन्न भयो । एउटा राजनीतिक पार्टीको यति लामो केन्द्रीय समितिको बैठक बसेको यो सम्भवत: पहिलोपटक हो । पछिल्लोपटक १५ मंसिरमा सुरु भएको बैठक २२ दिन चल्यो । २२ दिनको बैठकमा एमाओवादीका केन्द्रीय नेताहरूले उखान–टुक्का र कथाहरू सुनाए । उनीहरूले कथा, उखान–टुक्काले एक–अर्कालाई घोचे । उखान–टुक्काले बैठक रसिलो पनि बनायो । २२ दिनसम्म चलेको बैठकमा केन्द्रीय नेताहरूले सुनाएका कथा
नारायणकाजी श्रेष्ठका दुई कथा
१. दूधपोखरी बनाउने कुरा भएछ । दूधपोखरी बनाउन प्रत्येक घरले एक–एक लोहोटा दूध लिएर खन्याउने कुरा भएछ । एकजना किसानले सोचेछ, ‘अरू सबैले दूध लगिहाल्छन्, म एक्लोले एक लोहोटा पानी लगेर खन्याएको कसले थाहा पाउने ?’ उसले दूधको सट्टा पानी लगेछ । अरू सबै किसानले पनि त्यही गरेछन् । दूधपोखरी बनाउने भनेको त पानीपोखरी पो भएछ ।
(अध्यक्ष प्रचण्डको दस्ताबेजमा उल्लिखित पार्टीको आचारसंहिता कार्यान्वयनको प्रसंगलाई व्यंग्य गर्दै)

२. महाराष्ट्रमा बैठक चलिरहेका वेला मोजा गन्हायो । त्यहाँका मुख्यमन्त्रीले ‘मोजा गन्हायो, कसको मोजा गन्हाएको हो । अलि अप्ठ्यारो नमानीकन बाहिर गएर मोजा फेरेर आउनुस्’ भन्यो । बैठकमा सहभागी एकजना उठेर बाहिर गयो । र, मोजा फेरेर आयो । फर्केर आउँदा पनि मोजा गन्हाउन छाडेन । मुख्यमन्त्रीले फेरि सोध्यो, ‘अझै मोजा गन्हायो । तपाईंले मोजा फेर्नुभएको हैन ?’ मोजा फेरेर आउनेले जवाफ दिएछ, ‘मोजा त फेरेको हो । पुरानो मोजा गोजीमा राखेर आएको छु ।’
(एमाओवादीको शुद्धीकरणबारे टिप्पणी गर्दै)

कालीबहादुर मल्लका तीन कथा
३. एकजना लाहुरबाट फर्कियो । लाहुरबाट आउँदा ५–६ जोर कपडा लिएर आयो । धेरै वर्षसम्म तिनै कपडा लगायो । ५–६ वर्षपछि एक दिन कमिजको अघिल्तिरको फेर (छेउ) पाइन्टभित्र घुसाएको अनि पछाडितिरको फेर पाइन्टबाहिरै हल्लिने गरी नयाँ स्टाइलले लगाएको देखियो । अनि एउटाले सोध्यो, ‘हैन लाहुरे बा, उमेरले पाको, कुराले भलाद्मी मान्छेले कपडा किन यसरी लाउनु भा ? यो त जोकर भएन ?’ लाहुरेले जवाफ दिए, ‘हैन बाबु, मेरो समस्या कसले बुझ्ने ? लाहुरबाटै ल्याएको कपडा लगाउँदा–लगाउँदा कमिज (सर्ट)को अगाडिपट्टिको छेउ प्वाल पर्‍यो र पेन्टको पछाडिपट्टि प्वाल पर्‍यो । अनि के गर्ने, लाज ढाक्न सर्टको अघिल्तिर पेन्टमा हाल्यो, सर्टको छोपियो, सर्टको पछिल्तिरको बाहिरै छोड्दा पेन्टको पछाडिको प्वाल ढाकियो ।
बस † बात खत्तम ।’
(मोहन वैद्य र डा. बाबुराम भट्टराई पार्टीमै हुँदा प्रचण्डको दस्ताबेज लाहुरेको सुटजस्तै भएको कथा)

४. सिंजाली (जुम्लाको सिंजा) व्यापारीले सिलाजित (सिलाजु) बेच्दै बजार पुग्छन् । जब सिलाजित सिद्धिन्छ अनि केको व्यापार गर्ने भन्दा बानियाँको पल्लो दोकानबाट चिनी ल्याएर तावामा कालो हुने गरी भुट्छन् । र, त्यसैमा बाख्राको मूत (पिसाब) मिसाएर सिलाजित (सिलाजु) हजुर भनी उही चिनी किनेका बानियाँलाई बेच्छन् ।
(प्रचण्डले प्रस्तुत गरेका प्रतिवेदनमा आचारसंहितामाथि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुनाएको ‘दूधपोखरी बनाउने भन्दै पानीपोखरी बनाएको’ कथाको प्रतिउत्तरमा)

५. कर्णालीको कुनै गाउँमा भोकमरी थियो । मानिस खाना नपाएर पाङ्दुरको पिठो, बाँको उसिनेर खान्थे । त्यहीवेला एउटा एनजिओको ‘सरसफाइ वातावरण’ कार्यक्रम रहेछ । एनजिओको टोली (सहजकर्तासहित) भोकमरी परेको गाउँमा पुग्यो । गाउँलेलाई जम्मा गर्‍यो । भोकमरीले सताइएका गाउँलेहरू खाद्यान्नै (चामल) ल्याए होलान् भनेर घर–घरबाट परिवारकै लर्को कार्यक्रमस्थलतिर लाग्यो । सहजकर्तालाई लाग्यो, ‘कार्यक्रम सफल हुने भयो ।’ कार्यक्रम सुरु भयो । एनजिओको मुख्य मान्छे भाषण गर्न लाग्यो, ‘ल दाजुभाइ, दिदीबहिनी, बाआमा † जहाँ पायो त्यहीँ दिसा–पिसाब वा फोहोर फाल्दा वातावरणमा असर पर्छ । नानाभाँती रोग लाग्छन् । त्यसैले घर–घरमा चर्पी बनाई चर्पीमै दिसा–पिसाब गर्ने बानी बसाल्नुपर्छ ।’
चामलको आशाले आएका गाउँले भाषण गर्न थालेपछि जुरुक–जुरुक उठेर हिँड्न थाले । त्यसपछि बीचमा एउटाले जुरुक्क उठेर (आफ्नै शब्द र शैलीमा) भने, ‘भोकमारी परेर मान्ठा पैटौंनु केही पन्या नाई खायाको गु आउँछ, नखाईकना गु आउँदैन । तम्मा चर्पीमा क्या हग्न्या ? पहिला खान्या कार्याक्रम ल्याऊ खायापछि हग्ने कार्यक्रम ल्याउन् ।’ (भोकमरीले खाना नपाई दिसा नै आउँदैन भने चर्पी के गर्ने ? त्यसकारण, पहिले खाने कार्यक्रम ल्याउनुस् । अनि, पछि दिसा गर्ने सफाइको ल्याउनु, हामी त गयौँ ।)
(स्थायी समिति सदस्य लोकेन्द्र विष्टले राजीनामा दिएर प्रतिकेजी आठ सय पर्ने कालो धान फलाएको घटना बैठकमा सुनाएपछि २५ रुपैयाँ केजी किनेर खान नसक्ने जनतालाई कालो धान के काम भन्ने जवाफ दिन)
चक्रपाणी खनालको एक कथा
६. अकबरले समस्या परेपछि वीरबललाई सोध्थ्यो । वीरबललाई सोधेछ, ‘मेरो शरीरमा सबैतिर रौँ छ । हत्केलामा छैन । किन
होला ?’ वीरबलले जवाफ दिएछ, ‘तिमीले सबै कुरा (पैसालगायत) अरूलाई दिँदा–दिँदा तिम्रो हत्केलाको रौँ पनि गएछ ।’ अकबरले थप सोधेछ, ‘तिम्रो हत्केलाको रौँचाहिँ किन गएको नि ?’ वीरबलले फेरि जवाफ दिएछ, ‘तिमीले दिएको थाप्दा–थाप्दा मेरो हत्केलाको रौँ पनि गयो नि ।’ नजिकै रहेका भारदारको हत्केला हेर्दै अकबरले भनेछ, ‘यिनीहरूको हत्केलामा चाहिँ रौँ किन नभा’को नि ?’ वीरबलले जवाफ दिएछ, ‘तिम्रो हत्केलाको रौँ मलाई दिँदा–दिँदा खुइलियो, मेरो हत्केलाको रौँ तिमीले दिएको थाप्दा–थाप्दा खुइलियो । यिनीहरूको रौँचाहिँ तिमीले दिएको र मैले लिएकोमा रिस उठेर मुरमुरिँदै दुई हातको हत्केला रगड्दा खुइलिए ।’
(एमाओवादीका नेताहरू कमजोर हुँदै गएकालाई व्यंग्य गर्दै)

डिलाराम आचार्यका दुई कथा
७. मान्छेहरू पानीजहाजमा यात्रा गरिरहेका थिए । पानीजहाजमा मुसा पनि रहेछ । पानीजहाजमा एक्कासि आगो लागेछ । मान्छेहरू बाँच्न उपाय खोज्न थालेछन् । उनीहरूले पानीजहाज पनि बचाउने, आफू पनि बाँच्ने उपाय खोजेर पानी निभाउनतिर लागेछन् । तर, मुसोचाहिँ आफ्नो ज्यान मात्रै जोगाउन पानीजहाजबाटै भागेछ ।
(पूर्वनेता डा. बाबुराम भट्टराईले समस्या समाधानबाट डराएर एमाओवादी छोडेको आरोपसहित भट्टराईलाई व्यंग्य गर्दै)

बालकृष्ण ढुंगेलको एक कथा
८. हिजो राति भात खाएर सुतियो । राति त सपना देख्न थालिएछ । सपना कस्तो भने मन्त्री भएको, सरकारमा गएको । सरकारमा त गइयो । तर, सरकारमा गएर कस्तो–कस्तो काम गर्ने भन्ने सोच्दा–सोच्दै झलक्कै ब्युँझिएछु ।
(एमाओवादीबाट सरकारमा गएका मन्त्रीहरूले राम्रो काम गर्न नसकेको भन्दै) आजको नयाँ पत्रिका दैनिकबाट