के होला अबको बाबुराम पथ ?

Avatar photo
Dhadingpost
आइतवार, अशोज १०, २०७२

Mumaramमुमाराम खनाल ।
राजनीतिमा झट्ट सुन्दा पत्याउन पनि गाह्रो लाग्ने खालका संयोगहरू आउँछन्। लोकतान्त्रिक गणतन्त्र तथा संविधानसभाको राजनीतिक लाइन आफ्नो भएको दाबी गर्दै आएका एमाओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्टराईले आफैंले कल्पना गरेको संविधानसभामार्फत नयाँ संविधान घोषणा भएको साता दिनपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्।

संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषित गरेको एक सातामा नारायणहिटी दरबारमा पत्रकार सम्मेलन आयोजना गरेर राजा ज्ञानेन्द्रले दरबार छाड्ने घोषणा गरे।

झन्डै त्यही शैलीमा राजतन्त्र फ्याली गणतन्त्र ल्याउने प्रमुख योजनाकार भएको दाबी गर्दै आएका भट्टराईले गणतन्त्र स्थापित भएको एक सातामा पार्टी र संसद् त्याग गरेको घोषणा गरेका छन्।

उनले राजनीतिमा एउटा नयाँ चक्र निर्माण गरेका हुन् या चक्रव्यूह रु आशंका मडारिन थालेको छ।एमाआवादीको उद्भव, विकास र पतनको कोणबाट वर्तमान समयमा बाबुरामको पार्टी परित्यागले धेरै ठूलो अर्थ राख्दैन। किनकि यसभन्दा अघि नै एमाओवादीभित्र आधा दर्जनभन्दा बढी चिराहरू परिसकेका छन्।

एमाओवादीको आन्तरिक सांगठनिक क्षतिको दृष्टिले यसभन्दा अघि विभाजित मोहन वैद्य समूहले बढी अर्थ राख्थ्यो।

तर राजनीतिमा अंकगणितभन्दा बीजगणितले बढी अर्थ राख्ने भट्टराई स्वयंले धेरैपटक दोहोर्‍याएका छन्। त्यसैले अहिलेको बाबुराम प्रकरण एमाओवादीको थप विभाजनको अंकगणितबाट कम र मुलुकको आसन्न संकटको कोणबाट विश्लेषण गर्नुपर्ने विषय बनेको छ।

बाबुरामको पार्टी परित्याग एमाओवादी विघटनको अन्तिम किस्ता त हुँदै हो, त्योभन्दा बढी समग्र मुलुकको राजनीतिक संकट कता मोड्न खोजिँदैछ भनेर शंका गर्ने परिस्थिति पनि हो। जातीय र क्षेत्रीय पहिचानका नाममा मुलुक ध्रुवीकृत भइरहेको मात्र होइन, त्यसको बहानामा भारतको नाकाबन्दी र विखण्डनको समानान्तर त्रास आएको छ।

बाबुरामको पार्टी परित्यागपछि उनको भूमिका कस्तो होलारु उनले अब बनाउन खोजेको राजनीतिक बाटो के होरु यी सबैले वर्तमान राजनीतिमा गहिरो अर्थ राख्छ।राजनीतिबाट अवकाश लिएर सामान्य नागरिक बन्‍न बाबुरामले एमाओवादी परित्याग गरेका होइनन्।

बरू अझ बढी सक्रियतापूर्वक राजनीति गर्न पार्टी परित्याग गरेका हुन्। तर उग्र कम्युनिस्ट क्रान्तिकारी विरासत बोकेका बाबुरामले आगामी राजनीतिका लागि कस्तो शक्तिमा भर परेर संगठन निर्माण गर्लान्, त्यो महत्वपूर्ण छ।

अधिकांश राजनीतिज्ञहरू पार्टी परित्याग गरेर नयाँ पार्टी निर्माण गर्दा आफू लोकप्रिय रहेको तथा अन्य हिसाबले पनि अनुकूल अवस्था रोज्छन्। तर भट्टराईले आफ्नो राजनीतिक ुकरिअरु कै सबैभन्दा आलोचित र अलोकप्रिय समय रोजेका छन्।

एकातिर आफैंले नयाँ संविधानमा हस्ताक्षर गरेको साता दिन पनि बित्न नपाउँदै त्यसैको विपक्षमा मोर्चा खोलेका छन् भने अर्कोतिर मुलुकमा असामान्य अवस्था छ। सामान्यतया जोखिम उठाउन नचाहने बाबुरामले यस्तो प्रतिकूल समयमा निर्णय गरेकाले यो कदम रहस्यपूर्ण बनेको छ।

संविधानको विपक्षमा संगठित हुँदै गएको मधेस, थारू र अन्य जनजाति समुदायको आकार बढेको देखेर त्यसको नेतृत्व लिने अभिप्रायले मात्र बाबुरामले पार्टी परित्याग गरेका पक्कै होइनन्। एमाओवादीभित्र बाबुरामको राजनीतिक भविष्य अन्धकारमय हुँदै जाँदा त्यसले पनि निर्णयलाई प्रभावित गरेको हुनसक्छ।

मोहन वैद्यको पार्टी बहिर्गमनपछि नेतृत्व लिने बाबुरामको चाहनालाई पुष्पकमल दाहालले समाप्त प्रायः पारिदिएपछि उनको सपनाको दुःखद अन्त्य भएको थियो। त्यति मात्र होइन, पार्टीभित्र संविधानसभाको सैद्धान्तिक लाइन आफैंले कोरेको दाबी गर्ने बाबुरामलाई नयाँ संविधान निर्माणमा पनि दाहालले भूमिकाहीन बनाइदिए र मुख्य जस आफैं लिए।

त्यस अवस्थामा बाबुरामले आफ्नो राजनीतिक भविष्यको दोस्रो विकल्पका रूपमा संविधान निर्माणको जस लिँदै नयाँ राजनीतिक शक्तिको निर्माण गर्ने रणनीति तयार गरेका थिए । तर नयाँ संविधान निर्माण अन्त्यतिर आउँदा उनको कुनै पनि भूमिका स्थापित हुन सकेन।

दोस्रो विकल्पको पनि त्यही हबिगत भयो। उनको उग्र क्रान्तिकारी पृष्ठभूमिका कारण विरासतको कारणले लोकतान्त्रिक शक्ति उनको नेतृत्वमा संगठित हुन तयार देखिएनन्। पार्टीभित्रको कमजोर अवस्थाले गर्दा पार्टी विभाजन गरेर नेतृत्व गर्ने आँट पनि उनले देखाएनन्। पार्टी परित्याग गरेर विभिन्न बिजातीय समूहको नेता बन्ने अन्तिम विकल्प उनले रोजे।

तर बाबुरामलाई नयाँ संविधानको असफलताको भागीदार बनाउने रणनीतिमा लागेका शक्तिहरूले उनको राजनीतिक भविष्य थप अनिश्चित बनाएका छन्। किनकि अध्यक्ष दाहाल ढिलोचाँडो बाबुराम पार्टीमा रहन्नन् भन्नेमा प्रस्ट थिए। संविधान जारी हुनुभन्दा केही दिनअघि दाहालले आफ्ना निकटस्थ नेताहरूलाई बोलाएर बाबुराम चाँडोभन्दा चाँडो पार्टीबाट बाहिरिए हुन्थ्यो भन्ने अभिव्यक्ति दिएका थिए।

शुक्रबार बेलुकी दाहाल निवासमा भएको बाबुराम र दाहालको लामो कुराकानीमा पनि दाहालले ुठिकै छ, तपाईंले मलाई र मैले तपाईंलाई झेल्न सकैनौं, अब अलग होऊँ’ भनेका थिए । अन्ततः बाबुरामले त्यो आग्रह स्वीकारे।

पार्टी परित्याग गर्नुअगाडि बाबुरामले जातीय र क्षेत्रीय कथित पहिचानको नेतृत्व लिने चाहना खुलेरै राखेका थिए। त्यसैले उनले नयाँ संविधान घोषणा निश्चित भएपछि लगत्तै मगरात, थारू र मधेस बाहुल्य इलाकामा ठूला आमसभा गरेर उनीहरूको समर्थन लिने योजना बनाए।

विकसित राजनीतिक घटनाक्रममा नयाँ संविधानप्रति भारतको उग्र विरोध र मधेसको आन्दोलनमा उसको खुला समर्थनले बाबुरामलाई हौस्यायो। उनले मधेसको आन्दोलनबाट आफ्नो विगतको कुण्ठा मेटाउने बाटो देखे।

मधेस, जाति(जनजाति र भारतको आँकलनले बाबुरामलाई मधेस र जनजातिको नेता बन्ने रहर त पैदा गरायो तर बाबुरामले के बुझेनन् भने जातीयता र क्षेत्रीयताको राजनीतिमा उनको ुपहाडे बाहुनु पृष्ठभूमि फेरि बाधक बन्‍ने निश्चित छ।

तत्कालका लागि रामचन्द्र झालाई कुशको बाहुन बनाएर राजनीति गर्न बाध्य भएका छन् उनी। जतिसुकै प्रभावशाली होस्, जातीय र क्षेत्रीय राजनीतिले आगन्तुक चेहरा कहिल्यै स्वीकार गर्दैन। बाबुरामले त्यो बुझ्दासम्म सम्भवतः धेरै ढिला भइसकेको हुनेछ।

अन्नपूर्ण पोष्ट दैनिकबाट