ब्राजिलियन स्ट्राइकर नेमारले कोपा अमेरिका फुटबल प्रतियोगिताका बाँकी खेल गुमाउने भएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघको अनुशासन समितिले शुक्रबार चार खेलमा प्रतिबन्ध लगाएपछि उनी बाँकी खेलमा उपस्थित नहुने भएका हुन् ।
महासंघको पछिल्लो निर्णयसँगै नेमारलाई समग्रमा पाँच खेलको प्रतिबन्ध लागेको छ । उनलाई महासंघले यसअघि नै एक खेलमा प्रतिबन्ध लगाइसकेको छ । दुई खेलमा लगातार पहेँलो कार्ड बेहोरेपछि बिहीबार नै उनलाई एक खेलको प्रतिबन्ध लागेको थियो । प्रतियोगिताअन्तर्गत समूह सीमा रहेको ब्राजिलले समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । यस्तै फाइनलसम्म पुगेको अवस्थामा नकआउट चरणमा तीन खेल खेल्नुपर्ने हुन्छ । तर, आफ्नो प्रतिबन्ध कटाएर खेलमा फर्कंदा ब्राजिलियन कप्तान नेमारले यी खेल खेल्न भ्याउने छैनन् ।