उत्तरी धादिङलाई कसैले हेरेन अहिले सम्म न राहत, न उद्दार टोली

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २१, २०७२

3धादिङ वैशाख २१,। जिल्लाको उत्तरी भेगमा पर्ने सेर्तुङ लगायत आधा दर्जन गाविसमा भूकम्प गएको हप्ता दिन पुग्दा पनि यहाँ उद्धारका कुनै कार्य हुन सकेको छैन । यस भेगमा विशेषगरी तामाङ जातीको बाक्लो बसोबास छ ।

उत्तरी भेगमा पर्ने सेर्तुङ, तिप्लिङ, लापा, झार्लाङ र दार्खामा पूर्णरुपमा घर, गोठ, छाप्रा भत्किएर कति मानिस पुरिए भन्ने यकिन जानकारी समेत प्राप्त हुने सकिरहेको छैन । भूकम्पबाट जोगिएकाहरुले आजसम्म पनि स्थिति बुझ्न कोही नआएको गुनासो गरेका छन् ।

घर, गोठ र छाप्राका भग्नावशेषमा पुरिएर हालसम्म ती गाउँका सबै घर बस्न नै नहुने गरी पूर्ण रुपमा भत्किएको छ । ‘हामी खुला आकाशमुनि बसिरहेका छौं, आजसम्म उद्धारका लागि यहाँ कोही आएका छैनन्,’ स्थानीय मुक्तबहादुर तामाङ भने ।

विशेषगरी सेर्तुङ गाविसमा मात्र करिव ५ सय भन्दा बढी घरधुरी रहेका छन् । सबै घरमा अन्नपात मकै, धान, कोदो लगायतका खाद्यान्न पुरिएका छन् । ‘अन्नपात झिक्न त कता हो कता बस्तुभाउ समेत गोठबाट निकाल्न सकेनौँ,’ उनले भने ।

अहिले सबै अन्नपात पुरिँदा उनीहरु भोकभोकै बस्न बाध्य छन् । ‘जोगिएका केही अन्न तथा चाउचाउ एकछाक खाएर बसिरहेका छौँ,’ स्थानीयवासी दिलिप घलेले भने । उनले भने, ‘के गर्ने ? कसलाई भन्ने ? केही हाम्रा चित्कार सुन्नेवाला छैन,’ ‘राहत त आएन आएन, सरकारको उपस्थिति त भएन भएन, बाँचेकाहरु पनि मर्ने भए,’ उनले रुँदै भने । साभारः अनलाईन खबर