खाद्यान्न पसलमै पनि विषादी

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ३०, २०७१

pasalmai-pani_20150314083731हरिहरसिंह राठौर धादिङ, फाल्गुन ३० । सदरमुकामका खाद्यान्न, कस्मेटिक, रंगरोगन पसल र डिपार्टमेन्टल स्टोर्सहरूमै अवैध रूपले कडा विषादी बिक्री भइरहेको अनुगमनकर्ताहरूले फेला पारेका छन्। औषधि व्यवस्था विभाग र जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा तालिम प्राप्त प्राविधिकले मात्र विषादीको बिक्री वितरण, ओसारपसार गर्न पाउने प्रावधान छ।
जिल्ला विषादी व्यवस्थापन समन्वय समितिले शुक्रबार सदरमुकामका एग्रोभेटमा विषादीको बिक्री वितरणबारे अनुगमन गर्न जाँदा सदरमुकामको सिरान बजारका विराश थापा एन्ड सन्स र न्यु नीलकण्ठ स्टोर्सका खाद्यान्न पसल र किराना पसलहरूमा समेत दोस्रो तह -पहेंलो लेबल) का विषादी फेला पारेको थियो। एग्रोभेटमा पनि इजाजत नभएका विषादी बिक्री गरेको पाइयो।
जिल्लास्थित वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालको नेतृत्वमा गरिएको अनुगमनमा बीचबजारमा सगुन कस्मेटिक पसलमा समेत विषादीका बोतल फेला परे। साझामार्ट नामक डिपार्टमेन्टल स्टोर्स र रंगरोगनको डिलर अनुशा इन्टरप्राइजेजबाट पनि बरामद गरेको छ।
विषादी बिक्रेताले न्यूनतम सावधानीसमेत नअपनाएको पाइएको छ। ‘विषादी बेच्ने तालिमप्राप्त विक्रेताले आफू पनि सुरक्षित हुन मास्क, गाउन र पञ्जा लगाउनुपर्छ। सम्बन्धित विषादीबारे ग्राहकलाई सम्झाएर पठाउनुपर्ने हुन्छ,’ अनुगमनमा संलग्न जिल्ला कृषि विकासका बाली विज्ञान अधिकृत माधव भट्टले भने, ‘तर सबैले खुलेआम, जसले जे माग्यो त्यही बेच्ने प्रवृत्ति देखियो।’
जिल्लामा गत वर्ष चैत मसान्तसम्म १ सय ३० जनाले कृषिजन्य बीउबिजन र विषादी बेच्न पाउने अनुमति लिएका छन्। ‘३ देखि ६ दिने तालिमका भरमा एग्रोभेट र विषादी बेच्न पाउने अनुमति लिएको देखियो। पसलेहरू विषयगत ज्ञानमा कमजोर पाइयो,’ सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले भने। धादिङ अत्यधिक रूपमा तरकारी र फलफूल खेती हुने जिल्ला भएकाले विषादीको पनि अधिक व्यापार हुन्छ।
‘फोनकै भरमा राजधानीका महांकाल र महाबौद्धका व्यापारीले हामीलाई खाद्यान्नलगायत विभिन्न विषादी बेच्नु भनेर राख्न लगाउँछन्,’ सिरानबजारस्थित आशिष सप्लायर्सका खाद्यान्न पसले ओमप्रकाश पाण्डेले भने, ‘नबिके फिर्ता लैजान्छौं भन्दै चितवन र राजधानीबाट कसैले झोलामा, कसैले गाडीमा ल्याएर छोड्छन्।’
अनुगमनकर्ताले बरामद गरेका पहिलो -रातो) र दोस्रो -पहेंलो) लेबल लागेका सबै विषादी खाद्यान्न र किराना स्टोर्सहरूबाट तत्काल हटाई फिर्ता गर्न निर्देशन दिएका छन्।
आँप र लिचीमा धेरै किरा लागेकाले अरू विषादीले कामै नगर्ने भन्दै किसानहरूले थायोडिनजस्ता प्रतिबन्धित कडा विषादीहरू माग्ने गरेको बीचबजारस्थित रेग्मी एग्रोभेटका जनक अधिकारीले बताए। उनले विषादीबारे अध्ययन गरे पनि इजाजत नलिएको फेला परेको छ।
कृषिजन्य उत्पादनमा प्रयोग हुने विषादी बजारमा अन्धाधुन्ध बिक्री वितरण भइरहेको छ। किसानहरूले बीउमा राख्न भन्दै लिएर खोलामा माछा मार्नसमेत प्रयोग गरेको पाइएको छ। विषादी अनुगमनमा संलग्न दुवाडी एग्रोभेट सप्लायर्सका सञ्चालकसमेत रहेका जिल्ला उद्योग वाणिज्य संघका सदस्य बोधनाथ दुवाडीले बिक्री नभएको र म्याद नाघेको औषधि नष्ट गर्न झनै समस्या रहेको बताए। ‘हरेक एग्रोभेटसँग म्याद नाघेका र बिक्री नभई नष्ट गर्न नसकिएका धेरै औषधि छन्’, उनले भने।
साभार कान्तिपूर दैनिक