प्रहरीले संस्थागत भ्रष्टाचार गर्न थालेको भन्दै आपत्ति

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २७, २०७१

basudevधादिङ फागुन २७ गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले ट्राफिक प्रहरीले घुष खाने गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको नेतृत्वमा आज दिउँसो प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेका पत्रकारहरुको उक्त विषयमा ध्यानाकर्षण गराएका हुन् ।
प्रमुख जिल्ला अधिकारी सँगको भेटमा अध्यक्ष छत्कुलीले पछिल्लो समय प्रहरीले संस्थागत भ्रष्टाचार गर्न थालेको भन्दै आपत्ति जनाउनुभएको थियो ।
मलेखु क्षेत्रबाट धादिङवेसी भित्रिने ट्रक तथा ट्रिपरहरुमा समेत ट्राफिक प्रहरीले पैसा असुल्ने गरेको उहाँको गुनासो थियो ।
धादिङका नागरिक समाजको हैसियतमा प्रहरीले पछिल्लो समय देखाएको आचरणको बारेमा आफूहरुले प्रश्न उठाएको अध्यक्ष छत्कुलीले बताउनुभयो । आवश्यक परे प्रहरीले गरेको नराम्रा गतिविधिको प्रमाण सहित आफूहरु संघर्षमा उत्रिने समेत अध्यक्ष छत्कुलीले बताउनुभयो ।
सो क्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पत्रकारहरुले उठाएको विषयमा आफू गम्भीर रहेको बताउनुभएको थियो । जहाँ जसले कमजोरी गरेको भए पनि आफूलाई भन्न आग्रह गर्नुभएको थियो ।