एमाओवादीले संविधान बन्न नदिने षड्यन्त्र गर्दै– ज्ञवाली

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २२, २०७१

pradipधादिङ नलाङ फागुन २३ गते । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले एमाओवादीले संविधानसभाबाट संविधान बन्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ । अनेरास्ववियु धादिङको २३ औं जिल्ला सम्मेलन उद्घाटन गर्न धादिङको नलाङ पुग्नुभएका नेता ज्ञवालीले संविधानसभा भंङ्ग हुनुपर्छ भन्नेहरुसंग हात मिलाएर संविधानसभालाई असफल बनाउन लागिरहेको आरोप लगाउनुभयो । नेकपा एमाले आजसम्म पनि माओवादीसंग वार्ताको पर्खाइमा बसिरहेको भएपनि एकपछि अर्का शर्त तेस्र्याउदै माओवादी र मधेसी मोर्चा वार्ताबाट भागिरहेको औल्याउनुभयो ।
कुनैबेला अलिकती त्रास, अलिकति आश र अलिकति विश्वासको बलमा २ सय ४० सिट जितेको माओवादी अब पनि माओवादी नसच्चिए अर्काे निर्वाचनमा माओवादी विलाएर जाने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभाषद गुरु प्रसाद बुर्लाकोटीले एमाओवादीको नेतृत्वमा केही व्यक्तिहरु संविधान बन्न नदिने बाटोमा लागेको भएपनि नेकपा एमाले संविधान जारी गर्न कठिबद्ध रहेको बताउनुभयो । त्यस्तै एमाले केन्द्रिय सदस्य खेम लोहनी, एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, अनुरास्ववियु केन्द्रिय उपाध्यक्ष ऐन महर, नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष इश्वर अधिकारी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतले २३ औं जिल्ला सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो । धादिङ नलाङ स्थित सिद्देश्वर उच्च माविको प्राङ्गणमा जारी सम्मेलनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन धादिङको नया नेतृत्व चयन गर्नेछ ।