स्यालले टोकेर गाउँ नै आतंकित

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २९, २०७१

हरिहरसिंह राठौर
धादिङ, पुस २८ – मैदी गाविसका तीन वडामा आधार दर्जन स्यालले जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतंकित भएका छन् । मैदी-५ को गैरीगाउँ, ६ को चालिसे र ९ को छापथोकका १४ जनालाई स्यालले टोकिसकेको छ । दर्जनौं पशुवस्तु र कुकुरलाई पनि टोकेको छ ।

‘९ दिनअघि गैरीगाउँमा क्यारमबोर्ड खेल्दै गरेका एक युवालाई स्यालले अचानक झम्टेर आंैंलामा टोकेको थियो । त्यसयता आइतबारसम्ममा १४ जनालाई टोकिसकेको छ,’ स्थानीयवासी बमबहादुर सिंखडाले भने, ‘आधा दर्जन स्याल गाउँ पसेर जथाभावी टोक्दै हिँडेका छन् । यो क्रम अझै रोकिएको छैन ।’ बाटोमा हिँड्ने मान्छे, घरआँगनका कुकुर, गोठका गाईभैंसीलाई पनि टोकेको उनले बताए ।

गैरीगाउँमा साथीहरूसँग खेल्दै गरेका १५ वषर्ीय नवराज थापालाई स्यालले आंैलामा टोकेको थियो । सोही गाउँकी सोमकुमारी शाहीसहित ३ जनालाई पनि टोकेको छ । स्यालको टोकाइबाट घाइते उनीहरू आर्थिक अभावका कारण कतै उपचार गर्न गएका छैनन् । अहिलेसम्म गैरीगाउँमा ३, चालिसेमा २ र छापथोकका ९ जनालाई स्यालले टोकिसकेको छ । तीन वडाभित्र घुम्ने ६ वटा स्यालमध्ये एउटालाई मारिएको छ । कम्मरदेखि अनुहारसम्मै टोकेकालाई जिल्ला अस्पताल धादिङले औषधि अभावमा काठमाडौं पठाएको थियो ।

स्यालले ओठमा टोकेपछि छापथोककी पार्वती सामरीको तौलअनुसार लगाउनुपर्ने इमियोग्लोबिन भ्याक्सिन लगाएकी छन् । ५५ केजीकी उनले निजी अस्पतालमा ४६ हजार ५ सय तिरेर एउटा भ्याक्सिन लगाएकी हुन् । ४६ वषर्ीय गोकर्ण जिसीले पनि अनुहारमा स्यालले टोकेपछि एन्टिरेविजसँगै ३५ हजार रुपैयाँ तिरेर उक्त भ्याक्सिन लगाएका छन् । उनकै छिमेकीले पनि काठमाडौं पुगेर २० हजार तिरेर भ्याक्सिन लगाएको बताए ।

खर्च नभई उपचार गर्न नपाएकाहरूलाई राजधानीस्थित मैदी-काठमाडौं सम्पर्क मञ्चले आर्थिक संकलन गरी काठमाडौंमा बोलाएर उपचार गराएको छ । गाउँमा आतंक फैलिएपछि स्याल मार्न प्रहरी खटिएका छन् ।
(प्रकाशित मिति: २०७१ पुस २८ ईकान्तिपूर डटकम)