प्रमुख तीन दलको बैठक निष्कर्ष विहीन

Avatar photo
Dhadingpost
सोमवार, पुस १४, २०७१

काठमाडौं पुस १४ गते । संविधानका विवादित विषयमा छलफलका लागि मधेसी मोर्चासहित आज बसेको प्रमुख तीन दलको बैठक कुनै निष्कर्षमा नपुगी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान बसेको बैठक कुनै सहमति नगरी टुङ्गिएको हो ।
सुरुमा दोस्रो तहका नेताहरुसहित बैठक बसेको थियो । त्यसपछि गम्भीर छलफल गर्न भन्दै काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मार्चाको तर्फबाट मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच सामूहिक छलफल भएको थियो । धेरै नेताबीच छलफल गर्दा सहमति हुन नसक्ने भन्दै शीर्ष नेताहरुलाई मात्रै छोडिए पनि आआफ्नो अडानबाट पछि नहट्दा कुनै सहमति नभएको काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैले आआफ्नो दलको अडान प्रस्तुत गरेको जानकारी दिदै लचकता देखाउने कुरा गरे पनि नेताहरु पार्टीको अडानबाट पछि नहटेको बताउनुभयो ।
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले पनि बैठक सकारात्मक नभएको प्रतिक्रिया दिनुभयो । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सबै विषयमा खुलेर राम्रो छलफल भएकोभन्दै पर्सि फेरि बैठक बस्ने सहमति भएको बताउनुभयो । चार पक्षीय कार्य दलले शासकीयस्वरुप, राज्यपुनर्संरचना, न्याय र निर्वाचन प्रणाली बारेको विवाद मिलाउने उचित प्रस्ताव गर्न नसकेपछि फेरि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।