प्रश्नपत्र किनबेच थाहा छैन–यादव

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २९, २०७१

मंसिर २९ । शिक्षामन्त्री चित्रलेखा यादवले एमबिबिएसको छात्रावृत्ति कोटा परीक्षामा प्रश्नपत्र किनबेच प्रकरणबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा मन्त्री यादवले आफूलाई यसबारेमा थाहा नभएको र जानकारी लिने बताउनुभयो । सभासदहरुले एमबिबिएसको छात्रावृत्ति कोटाका लागि प्रश्नपत्र किनबेच भइरहेको भन्दै जवाफ दिन आग्रह गरेपछि मन्त्री यादवले त्यस्तो बताउनुभएको हो ।
प्रश्नपत्र प्रकरणमा शिक्षामन्त्रालयका कर्मचारीहरुको संलग्नताबारे छानविन भइरहेको भने उहाँले बताउनुभयो । शिक्षा सचिव विश्वप्रकाश पण्डितले संसदका समितिहरुभित्रै समन्वयको अभाव देखिएको एउटै कुरा पटक पटक धेरै समितिमा जानकारी दिनुपर्ने गरेको बताउनुभयो । उहाँले एमबिबिएस छात्राबृत्तिको प्रश्नपत्र बाहिरएकोबारेमा शिक्षामन्त्रालयको संलग्नता अहिलेसम्म पुिष्ट नभएको बताउनुभयो ।
यसैबीच संसदको कृर्षि तथा जलस्रोत समितिले काबेली ए लगायतका विभिन्न चौधवटा जलविद्युत आयोगजनाहरुको सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उर्जा मन्त्रालय र अर्थ मन्त्रालयका पदाधिकारीहरुसंग छलफल गरेको छ ।आजकै बैठकमा काबेली जल विद्युत आयोजनाको ऋण सम्झौताको विषयमा पनि अर्थ मन्त्रालयका पदाधिकारीसंग जानकारी लिएको समितिले जनाएको छ ।