यो वर्ष मुख्य कृषि उत्पादन घट्ने

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २४, २०७१

काठमाडौं, ३ पुस- सरकारले चालू वर्ष अधिकांश खाद्यान्न बालीको उत्पादन घट्ने अनुमान गरेको छ । कृषि विकास मन्त्रालयले चालू वर्ष गहुँबाहेक अन्य बालीको उत्पादन घट्ने अनुमान सार्वजनिक गरेको छ ।
मौसमको प्रतिकूलताका कारण धान खेती हुने कुल क्षेत्रफलसमेत यो वर्ष करिब ६१ हजार हेक्टरले कमी आएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यो गत वर्षको भन्दा करिब ४ प्रतिशत कम हो । धानको उत्पादकत्वमा भने १ प्रतिशतले मात्र कमी आएको छ । गत वर्ष धानको उत्पादकत्व ७ प्रतिशतले बढेर ३ हजार ३ सय ९४ प्रतिहेक्टर रहेकोमा यो वर्ष ३ हजार ३ सय ६० कायम रहले मन्त्रालयको प्रारम्भीक अनुमान छ ।
प्रमुख वर्षे बालीमा पर्ने धानपछिको दोस्रो ठूलो बाली मकैको उत्पादनमा समेत ६ प्रतिशतले कमी आउने मन्त्रलायले जनाएको छ । गत वर्षको उत्पादन २२ लाख ८३ हजार टनमा करिब १ लाख ३८ हजार कम उत्पादन भई यो वर्ष २१ लाख ४५ हजार टन उत्पादन हुने प्रारम्भिक अनुमान मन्त्रालयको छ । यो वर्ष मकै उत्पादन हुने क्षेत्रफलमा समेत करिब ५ प्रतिशत कमी आएको छ । अधिक वर्षाका कारण कतै–कतै डाँठ कुहिने रोगको कारणबाट केही क्षेत्रको मकैको उत्पादन घटे पनि मकैको क्षेत्रफलसमेत बढेका कारण समग्र मकैको उत्पादनमा भने कमी नआउने मन्त्रालयले जनाएको छ ।
यसैगरी चालू आवमा कोदोको उत्पादनमा भने करिब १.५ प्रतिशतले वृद्धि भर्ई ३ लाख ८ हजार टन रहने प्रारम्भिक अनुमान गरिएको छ । कोदोबालीमा उन्नत बीउ, मलजस्ता प्रविधिको प्रयोग गर्ने चलन कम भएका कारण यसको उत्पादकत्वमा वृद्धि नभएको मन्त्रलायको स्पष्टोक्ती छ । हिमाली क्षेत्रमा मुख्य खाद्यान्न बालीको रूपमा रहेको फापरको उत्पादन १० हजार ८ सय ७० टन पुग्ने अुनमान छ । यो गत वर्षको भन्दा ५ प्रतिशत बढी हो ।