दुई सन्तानको हत्या गरी आत्महत्या

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २१, २०७१

२१ मंसिर, विराटनगर । श्रीमतीले दोस्रो बिहे गरेपछि बिक्षिप्त बनेका श्रीमानले दुई सन्तानको हत्या गरी आत्महत्या गरेका छन् ।

बेेलवारी नगरपालिका २ का ३५ वर्षका ताराजुन राईले आइतबार बिहान पाँच वर्षका छोरा दीपेन्द्र र तीन वर्षकी छोरी दिपिकालाई प्लाष्टिकको पासो बनाएर झुन्ड्याएपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेको वेलवारी प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक दुर्गा दाहालका अनुसार राईले बिहान पाँच वजे स्थानीय लोहन्द्रा खोलामा रहेको कजेटमा आफना दुई नावालक सन्तानको हत्या गरेका थिए । नावालक सन्तानको हत्यापछि उनलेपनि सोही स्थानमा पासो लगाएर आत्मा हत्या गरेका थिए । ताराजुनकी पत्नीले गएको मंसिर ११ गते अर्कैसँग विवाह गरेकी थिइन् । श्रीमतीले अर्को बिहे गरेपछि ताराजुन तनावमा थिए ।

बालबालिकाकी हजुरआमाले बिहान उनीहरुलाई ओछयानमा नदेखेपछि खोजी गर्दा घरभन्दा केही पर तीनैजना झुन्डिएको अवस्थामा फेला परेका थिए । तीनैजनाको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

सशस्त्र प्रहरीले गरे आत्महत्या

यसैवीच गएराति विराटनगर कारागारमा कार्यरत सशस्त्र प्रहरी २५ वर्षकी विमला लुईटेलले पनि पासो लगाएर आत्मा हत्या गरेकी छिन । विराटनगर उपमहानगरपालिका ११ स्थित गोपाल दाहालको घरमा वस्दै आएकी लुइटेलले कोठामा सलको पासो लगाएर आत्मा हत्या गरेको प्रहरीले जनाएको छ । उनका श्रीमान उमेशकुमार खड्कापनि विराटनगर कारागारमामा सशस्त्र प्रहरीमा कार्यरत छन् ।