माओवादीलाई २० प्रतिशत रकम दिएर साङ्कोष–लपाङ सडक खनिएको बुद्धिमान तामाङको खुलासा

Avatar photo
Dhadingpost
कार्तिक १३, २०८३

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वगृहमन्त्री बुद्धिमान तामाङले धादिङबेसी–तिप्लिङ सडक निर्माणको प्रारम्भिक इतिहास स्मरण गर्दै तत्कालीन माओवादीलाई कुल लागतको २० प्रतिशत रकम दिएर साङ्कोषदेखि लपाङसम्म सडक खन्न सुरु गरिएको खुलासा गरेका छन् ।

धादिङको रुबी भ्याली गाउँपालिका–४, बराङमा आयोजित प्रथम कामी टासी स्मृति कप–२०८३ भलिबल प्रतियोगिताको समापन समारोहमा मन्तव्य राख्दै तामाङले सडक निर्माणका क्रममा तत्कालीन माओवादी पक्षबाट अवरोध भएको बताएका हुन् ।

उनका अनुसार धादिङबेसी–तिप्लिङ सडकको शिलान्यास आफैँले गरेका थिए । सुरुमा धादिङबेसीबाट साङ्कोषसम्म सडक खनिएको थियो । तर, साङ्कोषबाट लपाङसम्म सडक विस्तार गर्ने क्रममा तत्कालीन माओवादीको अवरोध सामना गर्नुपरेको उनले स्मरण गरे ।

तामाङले रामबहादुर तामाङ, गणेश कुमार श्रेष्ठ, गणेश अधिकारी र तत्कालीन निरञ्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक पन्तले माओवादी पक्षसँग छलफल गरेको बताए । उक्त छलफलपछि कुल लागतको २० प्रतिशत रकम माओवादीलाई दिने सहमति गरेर सडक खन्न सुरु गरिएको उनको भनाइ छ ।

माओवादी पक्षले सडक निर्माणका क्रममा आफूहरूले भनेकै स्थानबाट सडक खन्नुपर्ने सर्त राखेपछि सडक घुमाउरो र धेरै मोड भएको समेत उनले बताए ।

त्यसैगरी, सडक ह्याङ्जा पुगेपछि पुनः अवरोध भएको तामाङले स्मरण गरे । उनका अनुसार काठमाडौंवाट युवाहरू ल्याएर राँगा काटी भोज आयोजना गरेपछि ह्याङ्जाबाट सडक खन्ने काम अघि बढाइएको थियो ।

धादिङबेसीदेखि उत्तरी धादिङको तिप्लिङ जोड्ने सडक निर्माणका क्रममा भोग्नुपरेका चुनौती र तत्कालीन परिस्थितिबारे तामाङले सार्वजनिक रूपमा आफ्नो अनुभव सुनाएका हुन् ।