रोटरी क्लब अफ धादिङद्वारा ३५० बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण

Avatar photo
Dhadingpost
भदौ २४, २०८३

नुवाकोट । बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई लक्षित गर्दै रोटरी क्लब अफ धादिङले नुवाकोटका ३५० परिवारलाई राहत सामग्री वितरण गरेको छ । Rotary Australia World Community Service (RAWCS) को आर्थिक सहयोगमा क्लबले नुवाकोटका विभिन्न स्थानमा रहेका बाढी प्रभावित तथा विस्थापित परिवारलाई राहत सामग्री उपलब्ध गराएको हो ।

हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण घरबास, परिवार तथा दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका प्रभावित तथा जीवित पीडित (survivors) परिवारलाई राहत सामग्री वितरण गरिएको रोटरी क्लब अफ धादिङले जनाएको छ । राहत अभियानअन्तर्गत नुवाकोटका तीन वटा होल्डिङ सेन्टर र दुई वटा प्रभावित समुदायमा रहेका परिवारलाई सामग्री हस्तान्तरण गरिएको हो ।

राहत सामग्रीमा प्रभावित परिवारको तत्कालीन आवश्यकता र दैनिक जीवनयापनलाई ध्यानमा राख्दै भान्साका आवश्यक सामग्री (Kitchen Utensils), ग्यास चुल्हो सेट (Gas Stove Set), कम्बल तथा तन्ना (Blankets & Bed Sheet) लगायतका सामग्री समावेश गरिएको थियो ।

विपद्का कारण घरबास गुमाएका तथा दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारलाई खाना पकाउन र आधारभूत आवश्यकता पूरा गर्न सहज होस् भन्ने उद्देश्यले राहत सामग्री छनोट गरिएको रोटरी क्लब अफ धादिङका पूर्व अध्यक्ष अशोक कुमार बस्नेतले बताए ।

राहत वितरणका क्रममा सम्बन्धित स्थानीय तह, स्थानीय प्रतिनिधि, स्वयंसेवक तथा समुदायका अगुवासँग समन्वय गरी वास्तविक रूपमा प्रभावित र तत्काल सहयोग आवश्यक भएका परिवारको पहिचान गरिएको थियो । पहिचान गरिएका परिवारलाई आवश्यक राहत सामग्री प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

रोटरी क्लब अफ धादिङका अध्यक्ष ईश्वर कडेलले विपद्को समयमा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको सम्मान, सुरक्षा र आधारभूत आवश्यकतालाई केन्द्रमा राखेर मानवीय सहायता प्रदान गर्नु क्लबको प्राथमिकता रहेको बताए ।

क्लबले राहत अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराएको Rotary Australia World Community Service (RAWCS) प्रति आभार व्यक्त गरेको छ । साथै आगामी दिनमा पनि विपद् प्रभावित तथा जोखिममा रहेका समुदायको आवश्यकता पहिचान गरी मानवीय तथा सामुदायिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

विपद् व्यवस्थापनमा स्थानीय समुदाय, स्थानीय तह, सहयोगी संस्था तथा स्वयंसेवकबीचको सहकार्य महत्वपूर्ण हुने भन्दै क्लबले राहत वितरणसँगै पुनर्स्थापना तथा प्रारम्भिक पुनर्निर्माणका क्षेत्रमा समेत आवश्यकताअनुसार सहयोगका लागि पहल गर्ने जनाएको छ ।

रोटरी क्लब अफ धादिङको यो राहत अभियानले बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आवश्यक घरायसी सामग्री उपलब्ध गराउनुका साथै विपद्को कठिन परिस्थितिमा समुदाय र सहयोगी संस्था उनीहरूको साथमा रहेको अनुभूति गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।