
धादिङ । ज्वालामुखी गाउँपालिका–६ स्थित सुनखानी माध्यमिक विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्य, पोषण र स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोषणसम्बन्धी विशेष प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थी, साना कक्षाका अभिभावक तथा शिक्षक–कर्मचारीको उत्साहपूर्ण सहभागितामा सम्पन्न प्रदर्शनीमा सन्तुलित आहार, पोषणयुक्त खाद्य पदार्थ, शरीरलाई आवश्यक पोषक तत्त्व, स्वस्थ खानपानका बानी तथा बालबालिकाको शारीरिक र मानसिक विकासमा पोषणको भूमिका लगायतका विषयमा विभिन्न सामग्री प्रस्तुत गरिएको थियो ।
विशेषगरी साना कक्षाका बालबालिकालाई लक्षित गरी स्थानीय रूपमा उपलब्ध खाद्य सामग्रीको प्रयोग, पौष्टिक खानाको पहिचान, सन्तुलित भोजनको महत्त्व र स्वस्थ जीवनशैलीका विषयलाई सरल, व्यावहारिक तथा आकर्षक ढङ्गबाट प्रस्तुत गरिएको विद्यालयले जनाएको छ ।
प्रदर्शनीले विद्यार्थीलाई पोषणसम्बन्धी सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी दैनिक जीवनमा स्वस्थ खानपानका अभ्यास अपनाउन प्रेरित गरेको विद्यालयको भनाइ छ । स्थानीय रूपमा पाइने खाद्य पदार्थलाई प्राथमिकता दिँदै स्वस्थ र सन्तुलित भोजनको अवधारणा बुझाउन कार्यक्रम प्रभावकारी बनेको थियो ।
कार्यक्रमको तयारी, व्यवस्थापन तथा प्रस्तुतीकरणमा विद्यालय नर्स प्रियंकाको महत्वपूर्ण भूमिका रहेको विद्यालयले जनाएको छ । उहाँको सक्रिय पहल, मेहनत र सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप व्यवस्थित, ज्ञानवर्धक तथा प्रभावकारी बनाउन योगदान पुगेको विद्यालयको भनाइ छ ।
स्वस्थ शरीर नै प्रभावकारी सिकाइ र समग्र व्यक्तित्व विकासको आधार भएकाले विद्यालय तहदेखि नै पोषण, स्वास्थ्य, सरसफाइ र स्वच्छ खानपानसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नुपर्ने आवश्यकता कार्यक्रमले औँल्याएको छ ।
यस्ता कार्यक्रमले विद्यार्थीमा स्वस्थ जीवनशैलीप्रतिको चेतना विकास गर्नुका साथै अभिभावक र शिक्षकलाई समेत बालबालिकाको खानपान तथा पोषणप्रति थप जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
