धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

Avatar photo
Dhadingpost
भदौ ३, २०८३

मकाउ । लामो समयदेखि मकाउमा बस्दै आएका समाजसेवी तथा धादिङ समाज मकाउका संस्थापक संयोजक नवराज लम्साल पुनः धादिङ समाज मकाउको संयोजकमा चयन भएका छन् ।

लम्साल यसअघि पनि धादिङ समाज मकाउको संयोजकका रूपमा जिम्मेवारी सम्हालिसकेका थिए । उनले समाजमा सक्रिय भूमिका निर्वाह गर्दै मकाउमा रहेका धादिङवासीबीच सामाजिक एकता, आपसी सहयोग र सहकार्य बढाउन योगदान पुर्‍याउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अनुसार लम्साल यसअघि २०८० माघमा धादिङ समाज मकाउको संयोजक चयन भएका थिए । पुनः संयोजकको जिम्मेवारी पाएसँगै उनले मकाउमा रहेका धादिङवासीलाई थप एकताबद्ध गर्दै संस्थाका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन नजिकिँदै गर्दा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् तथा धादिङसँग सम्बन्धित संस्थाहरूको सक्रियता बढेको छ । यही क्रममा धादिङ समाज मकाउले पनि आफ्नो संस्थागत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै अघि बढाउने तयारी गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमार्फत लम्साललाई पुनः संयोजकको जिम्मेवारी दिइएको हो । विज्ञप्तिमा लम्सालको नेतृत्वमा मकाउमा रहेका धादिङवासीबीचको एकता, सहकार्य र सामाजिक गतिविधि थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

साथै, अन्तर्राष्ट्रिय धादिङ समाजले नवनियुक्त संयोजक लम्साललाई सफल कार्यकालको शुभकामना दिएको छ ।