साउदी अरबमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यसमिति गठन हुँदै, धादिङबासीलाई सम्पर्क गर्न आग्रह

Avatar photo
Dhadingpost
साउन ३१, २०८३

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले साउदी अरबमा आफ्नो शाखा गठनको प्रक्रिया अघि बढाएको छ । समाजले यसअघि नै सरोज थापालाई साउदी अरब शाखा गठनका लागि संयोजक तोकेपछि थापाले नयाँ कार्यसमिति गठनका लागि आवश्यक पहल थालेका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजको हालसम्म १९ राष्ट्रमा शाखा विस्तार भइसकेको जनाइएको छ । विदेशमा रहेका धादिङबासीलाई एउटै संस्थागत सञ्जालमा जोड्दै जन्मभूमिको विकास, आपसी सहयोग र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले साउदी अरबमा पनि शाखा गठन गर्न लागिएको हो ।

शाखा गठनका लागि संयोजक थापाले साउदी अरबका विभिन्न क्षेत्रमा रहेका धादिङबासीसँग सम्पर्क तथा समन्वय सुरु गरेका छन् । नयाँ कार्यसमितिमा रहेर समाजको अभियानमा सक्रिय भूमिका निर्वाह गर्न इच्छुक धादिङबासीलाई सम्पर्कमा आउन आग्रह गरिएको छ ।

‘हाम्रो धादिङ, राम्रो धादिङ’ मूल नारासहित अभियान

अन्तर्राष्ट्रिय धादिङ समाजले ‘हाम्रो धादिङ, राम्रो धादिङ’ भन्ने मूल नाराका साथ विदेशमा रहेका धादिङबासीलाई संगठित गर्दै आएको छ ।

साउदी अरबमा गठन हुने शाखाले त्यहाँ रहेका विभिन्न क्षेत्रका धादिङबासीलाई एउटै साझा चौतारीमा जोड्ने, सुख–दुःखमा साथ दिने तथा आपसी सहयोग र सहकार्यको भावना बलियो बनाउने उद्देश्य राखेको जनाइएको छ ।

त्यस्तै, जन्मभूमि धादिङको दिगो विकास तथा सामाजिक कार्यमा विदेशमा रहेका धादिङबासीको भूमिका र योगदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

१५ दिनभित्र सम्पर्क गर्न आग्रह

साउदी अरबमा रहेका धादिङबासीमध्ये समाजको अभियानमा जोडिन तथा नयाँ कार्यसमितिमा सक्रिय भूमिका निर्वाह गर्न इच्छुकलाई अबको १५ दिनभित्र संयोजकसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

संयोजक थापाले साउदी अरबका विभिन्न क्षेत्रमा रहेका सम्पूर्ण धादिङबासीलाई संस्थाको अभियानमा जोडिन आह्वान गरेका छन् ।

साउदी अरबमा शाखा गठन भएसँगै अन्तर्राष्ट्रिय धादिङ समाजको विश्वव्यापी सञ्जाल थप विस्तार हुने अपेक्षा गरिएको छ।