
धादिङ। धादिङका उत्कृष्ट तीन किसान रोशिका गुरुङ, रामकुमार श्रेष्ठ र बुद्धिप्रसाद बुर्लाकोटी नगदसहित सम्मानित भएका छन् । उनीहरूलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो। त्यसैगरी, चौथो स्थान हासिल गरेकी विमला कोइरालालाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।
एक्सन नेपालद्वारा सञ्चालित कृषि तथा पशु मूल्य शृङ्खलामा नवीनता परियोजना अन्तर्गत आयोजित उत्कृष्ट कृषक छनोट तथा सम्मान कार्यक्रममा उनीहरूलाई पुरस्कृत गरिएको हो । कार्यक्रमको उद्देश्य कृषि र पशुपालन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कृषकहरूलाई प्रोत्साहन गर्नुका साथै व्यावसायिक खेती र उद्यमशीलतालाई बढावा दिनु रहेको आयोजकले जनाएको छ ।
सम्मान कार्यक्रममा एक्सन नेपालका अध्यक्ष कमला कुमालको अध्यक्षता रहेको थियो भने नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा नगर उपप्रमुख दीपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, हेफर इन्टरनेसनल नेपालका कृषि बजार विकास प्रमुख डा. राजकुमार अधिकारी, विभिन्न वडाका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा कृषि क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कृषकहरूको योगदानको प्रशंसा गर्दै यस्ता सम्मानले कृषकहरूलाई थप उत्साहित बनाउने र स्थानीय कृषि उत्पादन तथा उद्यम विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो ।
