धादिङ नेपाली समाज अमेरिकामा सदस्यता आवेदन ७५७ पुग्यो, अधिवेशन तयारी तीव्र

Avatar photo
Dhadingpost
बैशाख १६, २०८३

धादिङ । अमेरिकामा बसोबास गर्दै आएका धादिङ जिल्ला मूलका नेपालीहरूको संस्था धादिङ नेपाली समाज अमेरिकामा सदस्यता आवेदन संख्या ७५७ पुगेको छ । आगामी मे १६ मा हुने चौथो अधिवेशनलाई लक्षित गर्दै सदस्यता विस्तार अभियान तीव्र बनाइएको हो ।

संस्थाले अधिवेशनपूर्व खुला गरेको सदस्यता आवेदनमा नयाँ र पुराना गरी कुल ७५७ जनाको आवेदन परेको अध्यक्ष टक रुवालीले जानकारी दिए । यसअघि संस्थामा ९६ जना आजीवन सदस्य र ३९५ जना साधारण सदस्य रहेका थिए भने पछिल्लो समय उल्लेख्य रूपमा सदस्य संख्या बढेको हो ।

हालसम्म प्राप्त आवेदनमध्ये १०८ जना आजीवन सदस्य र ६४९ जना साधारण सदस्य रहेका छन् । सदस्यता आवेदनलाई अन्तिम रूप दिन वरिष्ठ उपाध्यक्ष सागर अधिकारीको नेतृत्वमा सदस्यता विस्तार समिति सक्रिय रूपमा काम गरिरहेको छ । यस अभियानमा हरि गिरी प्राविधिक विशेषज्ञ तथा आईटी विभाग प्रमुखका रूपमा संलग्न छन् ।

अमेरिकामा करिब ३ हजारको हाराहारीमा धादिङका बासिन्दा रहेको अनुमान गरिएको छ । संस्थाले सबैलाई समेट्दै अधिवेशनलाई सफल बनाउन विभिन्न तयारीलाई तीव्रता दिएको जनाएको छ ।