
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित Nilkantha Multiple Campus ले “प्रथम एनएमसी अन्तर्राष्ट्रिय सम्मेलन २०२६” आयोजना गर्ने भएको छ । क्याम्पस प्रमुख डा. मुरारी अधिकारीका अनुसार सम्मेलन वैशाख १८–१९, २०८३ (मे १–२, २०२६) मा सञ्चालन हुनेछ ।
“शैक्षिक रूपान्तरण, नवप्रवर्तनशील शिक्षण पद्धति, अनुसन्धान तथा उद्यमशीलतामार्फत समुदाय सशक्तीकरण” भन्ने मूल नारासहित आयोजना हुने उक्त सम्मेलनमा स्वदेश तथा विदेशका प्राध्यापक, अनुसन्धानकर्ता तथा शैक्षिक विज्ञहरूको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनका प्रमुख अतिथिमा Tribhuvan University का उपकुलपति प्रा. डा. दीपक अर्याल रहने छन् भने विश्वविद्यालय अनुदान आयोगका सचिव प्रा. डा. ज्ञानबहादुर थापा विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । साथै त्रिभुवन विश्वविद्यालयकै रजिस्ट्रार प्रा. डा. केदार रिजाल पनि विशेष अतिथिका रूपमा रहने कार्यक्रम छ ।
सम्मेलनमा प्रमुख वक्ता (Keynote Speakers) का रूपमा शिक्षा तथा अनुसन्धान क्षेत्रका विभिन्न विज्ञहरूले प्रस्तुति दिनेछन् । त्यसैगरी प्लेनरी सत्रहरूमा नेपालसहित भारत, नर्वे, हङकङ, अमेरिका, जापान, ग्रीस लगायतका देशका प्राध्यापकहरूले आफ्नो अनुसन्धान अनुभव र ज्ञान आदान–प्रदान गर्नेछन् ।
कार्यक्रममा प्यानल छलफल तथा मोडरेटर सत्रसमेत समावेश गरिएको छ, जसमा शैक्षिक नीति, उच्च शिक्षा सुधार, अनुसन्धान प्रवर्द्धन तथा उद्यमशीलता विकासका विषयमा बहस हुने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार सम्मेलनले स्थानीय तथा राष्ट्रिय तहमा शिक्षा क्षेत्रमा नयाँ सोच, सहकार्य र अनुसन्धानको वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ ।

