
धादिङ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले ट्रिपर तथा ट्रकमाथि भइरहेका बारम्बार चेकजाँचका विषयमा ध्यानाकर्षण गराउँदै जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी सुमित खड्कालाई ज्ञापनपत्र बुझाएको छ।
समितिका अध्यक्ष अमर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष हेमराज श्रेष्ठ, सचिव प्रदिप बस्नेत, कोषाध्यक्ष राजन श्रेष्ठलगायतको टोलीले एसपी खड्कासँग भेट गरी एकै सवारीलाई दिनमै पटक–पटक विभिन्न स्थानमा चेकजाँच गर्दा काठमाडौंसम्मको लोड–अनलोड प्रक्रियामा समस्या भइरहेको गुनासो गरेका हुन्। उनीहरूले एउटै सवारीलाई धेरै ठाउँमा जाँच नगरी एक स्थानमा मात्र प्रभावकारी रूपमा चेकजाँच गर्न आग्रह गरेका छन्।
त्यसैगरी, समितिले ट्रिपर तथा ट्रकहरूले ओभरलोड सामान नबोक्न व्यवसायीलाई सचेत गराउने प्रतिबद्धता व्यक्त गर्दै यदि कसैले नियम उल्लंघन गरेको पाइएमा कानुनअनुसार तत्काल कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको छ।
व्यवसायी र सुरक्षानिकायबीच समन्वय गरेर सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।
