नीलकण्ठ नगरपालिकाले कक्षा ८ को नतिजा चैत २७ गते सार्वजनिक गर्ने तयारी

Avatar photo
Dhadingpost
चैत्र २३, २०८२

धादिङ । नीलकण्ठ नगरपालिकाले २०८२ सालको पालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षाको नतिजा चैत २७ गते सार्वजनिक गर्ने तयारी गरेको छ ।

नगरपालिकाका स्रोत व्यक्ति मेघनाथ कोइरालाका अनुसार वार्षिक शैक्षिक पात्रोमा नतिजा चैत २९ गते सार्वजनिक गर्ने उल्लेख भए पनि सार्वजनिक बिदाका कारण मिति अगाडि सारिएको हो । “२८ गते शनिबार र २९ गते आइतबार सार्वजनिक बिदा पर्ने भएकाले नतिजा तोकिएको समयभन्दा अगाडि नै सार्वजनिक गर्ने तयारी गरेका हौं,” उनले बताए ।

यस वर्ष नीलकण्ठ नगरपालिकाका ३१ वटा सामुदायिक विद्यालयबाट ९३७ जना तथा ६ वटा संस्थागत (निजी) विद्यालयबाट २७० जना गरी कुल १,२०७ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका छन् ।

सबैभन्दा धेरै विद्यार्थी नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयबाट २८१ जना सहभागी भएका थिए ।