एड्भान्स एकेडेमीमा १९औँ प्री–प्राइमरी ग्राजुएसन भव्य, ७८ विद्यार्थी सम्मानित

Avatar photo
Dhadingpost
चैत्र २१, २०८२

धादिङ । जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा परिचित एड्भान्स एकेडेमीमा कक्षा यूकेजीका विद्यार्थीहरूको १९औँ प्री–प्राइमरी ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा यूकेजी उत्तीर्ण गरेका ७८ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

समारोहको अवसरमा प्ले ग्रुपदेखि कक्षा यूकेजीसम्म अध्ययनरत विद्यार्थीहरूमध्ये वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खाली प्रमुख अतिथिको रूपमा सहभागी थिए । त्यस्तै, रोटरी क्लब अफ धादिङका पूर्व अध्यक्ष अशोक कुमार बस्नेत, सानीमा लाइफ इन्सुरेन्सका ब्रान्च म्यानेजर विष्णुकुमार श्रेष्ठ तथा समाजसेवी जनकराज ढकाल विशेष अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा कक्षा नर्सरीदेखि यूकेजीसम्मका विद्यार्थीहरूले नृत्य, कथावाचन, वक्तृत्व कला, कविता वाचन लगायत विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए ।

त्यसैगरी, उत्कृष्ट अभिभावक तथा उत्कृष्ट शिक्षकहरूलाई प्रमुख अतिथि अर्जुनकुमार श्रेष्ठ, सभापति भीमबहादुर श्रेष्ठ लगायत अतिथिहरूद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्जुनकुमार श्रेष्ठले एड्भान्स एकेडेमीले हरेक वर्ष साना नानीबाबुहरूको ग्राजुएसन कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गर्दै यसले बालबालिकाको शैक्षिक तथा व्यक्तिगत विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउन विद्यालयमा विश्वास गरी जिम्मा लगाउने सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता गराउँदै जीवनोपयोगी सीप विकासमा जोड दिइने प्रतिबद्धता व्यक्त गरे ।