
धादिङ । धादिङ अस्पतालमा पहिलो पटक सर्पदंश (Snake Bite) को उपचारका लागि आवश्यक एन्टी स्नेक भेनम (Anti Snake Venom) उपलब्ध भएको छ।
धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाका अनुसार उक्त औषधि उपलब्ध भएसँगै अब सर्पदंशका बिरामीहरूको आपतकालीन अवस्थामा समयमै उपचार सम्भव हुने भएको छ । यसले बिरामीहरूको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
यसअघि सर्पदंशका बिरामीहरूले उपचारका लागि अन्य जिल्ला वा ठूला अस्पताल धाउनुपर्ने बाध्यता रहेको थियो । अब भने धादिङमै उपचार सेवा उपलब्ध भएपछि स्थानीयवासीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
धादिङ अस्पतालमा सर्पदंश उपचार सेवा सुरु हुनु स्थानीय स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले आकस्मिक अवस्थामा धेरैको ज्यान जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
