
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ मा बृहत खानेपानी आयोजनाको काम जारी छ ।
करिब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना सम्पन्न भएपछि नयाँ बस्तीका करिब ५५० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ।
वडाध्यक्ष राजकुमार भण्डारीका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा उक्त खानेपानी आयोजनाको काम अगाडी बढेकोहो । आयोजना सम्पन्न भएपछि स्थानीय बासिन्दाले भोग्दै आएको खानेपानीको समस्या समाधान हुने विश्वास लिइएको छ ।
हाल आयोजनाअन्तर्गत आवश्यक संरचना निर्माण तथा पाइपलाइन विस्तारको काम अघि बढिरहेको छ । स्थानीय बासिन्दाले आयोजना समयमै सम्पन्न भएमा दैनिक उपभोगका लागि सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध हुने अपेक्षा गरेका छन् ।
