नेकपाद्वारा संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

Avatar photo
Dhadingpost
माघ २७, २०८२

काठमाडौँ, २७ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै आर्थिक सुधारको नयाँ चरणलाई केन्द्रमा राखिएको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले पार्टीको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो।

प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गरौँ, सयौँ फूलहरू फुल्न दिऔँ, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास, र नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्तिको मूल बाटो जस्ता विषयलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ।

यसैगरी ‘लोकतान्त्रिक शासन प्रणालीको आधार : जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह’ र ‘आर्थिक विकास र समृद्धिका आधार : सुशासन, पारदर्शिता र मितव्ययिता’ लाई विशेष महत्व दिइएको छ।

प्रतिबद्धता पत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पूर्वाधार निर्माण, उद्यमशीलता प्रवर्द्धन, उद्यमी परिवार निर्माण, तथा गाउँ–सहरका घर–घरमा रोजगारी सिर्जना गर्ने प्रतिबद्धता समेत उल्लेख गरिएको छ।

नेकपाले जनमुखी विकास, सामाजिक न्याय र समावेशी आर्थिक रुपान्तरणलाई आफ्नो मूल एजेन्डा बनाउँदै चुनावी मैदानमा जाने संकेत दिएको छ।