
धादिङ । प्रकृतिको काखमा डाँडै–डाँडाले घेरिएको, खोलाको छेउ हरियालीले सजिएको किराञ्चोक माध्यमिक विद्यालय आज धादिङ जिल्लाकै शैक्षिक पहिचान बनेको छ। तर, यो पहिचान सहज रूपमा बनेको होइन—चौतारो, गोठ र छाप्रोबाट सुरु भएको कठिन यात्राको परिणाम हो।
गुरुकुलबाट विद्यालयसम्मको यात्रा
वि.सं. २०२५/२६ सालभन्दा अगाडि यदुकुमार अधिकारी र शिवराम ढुङ्गानाले तिवारी चौतारोमा ‘गुरुकुल पाठशाला’ का रूपमा पढाइ सुरु गरेका थिए। भवन नहुँदा चौरमै बसेर पठनपाठन गर्नुपरेको थियो। घाम–पानीको ओत नहुँदा केही समयमै पाठशाला स्थगित भयो।
वि.सं. २०३२ सालमा जिल्ला शिक्षा शाखाबाट स्वीकृति पाएपछि बलराम अधिकारी र गोविन्दबहादुर भण्डारीजस्ता शिक्षकहरूको पहलमा पुनः पढाइ सुरु गरियो। अभिभावकहरूको सहयोगमा कटुसको स्याउलाले छाएको छाप्रो बनाइयो, तर पानी चुहिने समस्याले पढाइ निरन्तर चुनौतीपूर्ण बनिरह्यो।
छाप्रोदेखि पक्की भवनसम्म
वि.सं. २०३३/३४ तिर अभिभावक, शिक्षक र विद्यार्थी मिलेर टायल बोकेर सानो भवन निर्माण गरियो। त्यो पनि टिक्न सकेन। कहिले गोठमा, कहिले घरको पिँढीमा पढाउँदै विद्यालयलाई जोगाइयो।
वि.सं. २०३८ सालमा बुद्धिमान तामाङ माननीय भएपछि चार कोठे भवन र जस्तापाता प्राप्त भयो। पछि पुनः प्रवाङ चौतारामै चार कोठे भवन बनाएर २०५१ सालसम्म पढाइ सञ्चालन गरियो।
माध्यमिकदेखि उच्च माध्यमिक तहसम्म
वि.सं. २०५२ सालपछि विद्यालय दुल्लटार सारियो। अभिभावक, विद्यालय व्यवस्थापन समिति र विभिन्न संघसंस्थाको सहयोगमा नयाँ भवन निर्माण भई कक्षा १० सम्म पढाइ सुरु भयो।
वि.सं. २०६० सालमा पहिलो पटक एस.एल.सी परीक्षा दिइयो।
वि.सं. २०६८ सालदेखि कक्षा ११ र १२ सञ्चालन हुँदै आएको छ र हालसम्म करिब ५०० विद्यार्थीले उच्च माध्यमिक शिक्षा यहीँबाट प्राप्त गरिसकेका छन्।
समुदायको साझा विद्यालय
किराञ्चोक माविले बाहुन, क्षेत्री, तामाङ, नेवार, मगर, दलित लगायत सबै समुदायका विद्यार्थीलाई समेट्दै आएको छ। आर्थिक रूपमा कमजोर र पिछडिएका वर्गका बालबालिकालाई पनि शिक्षाको मूलधारमा ल्याउने उद्देश्यसहित बालमैत्री कक्षा र सिकाइ सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन्।
हाल विद्यालयमा ६ वटा भवन (५ पक्की र १ ट्रष्ट भवन) छन्। ग्रामीण क्षेत्रमा बसाइँसराइ र जन्मदर घटे पनि विद्यालयले गुणस्तरीय शिक्षामा निरन्तर प्रयास गरिरहेको छ।
स्वर्ण जयन्तीको तयारी
पाँच दशकभन्दा बढीको संघर्ष, योगदान र उपलब्धिको इतिहास बोकेको किराञ्चोक माध्यमिक विद्यालयले २०८२ साल माघ १५, १६ र १७ गते स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ।
पूर्व विद्यार्थी, पूर्व शिक्षक, अभिभावक, बुद्धिजीवी तथा सम्पूर्ण सरोकारवालालाई स्वर्ण जयन्ती सफल बनाउन विद्यालय परिवारले हार्दिक आग्रह गरेको छ।
चौतारोबाट सुरु भएको यात्रा आज कक्षा १२ सम्म पुगेको छ—यो केवल विद्यालयको इतिहास होइन, समुदायको आत्मसम्मान र संघर्षको कथा हो।

