धादिङ यू–१४ फुटबल: छात्र/छात्रा दुबैमा बागेश्वरी मावि च्याम्पियन

Avatar photo
Dhadingpost
पुस ११, २०८२

धादिङ । पुस ८ गतेदेखि गजुरी–५ स्थित गलौंदी खेलमैदानमा जारी धादिङ जिल्ला स्तरीय अन्तरविद्यालय अण्डर–१४ (यू–१४) छात्र/छात्रा फुटबल प्रतियोगिता मा छात्र र छात्रा दुवै विधामा बागेश्वरी माध्यमिक विद्यालय, मलेखु ले उपाधि जितेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) धादिङका उप महासचिव उपेन्द्र डी लामाका अनुसार, आज सम्पन्न फाइनल खेलमा छात्रतर्फ बागेश्वरी मावि मलेखुले मुनाल एकेडेमी, गजुरी लाई २–० ले पराजित गरे। छात्रा तर्फ पनि बागेश्वरी मावि मलेखुले ब्राइट फ्युचर बोर्डिङ लाई २–० ले हराउँदै दुवै विधामा च्याम्पियन बनेको हो।
समापन समारोहमा प्रमुख अतिथि गणेशमान श्रेष्ठ, गजुरी गाउँपालिका अध्यक्ष रहेका थिए। विशेष अतिथिहरुमा दीपक खतिवडा, केन्द्रीय उपाध्यक्ष एन्फा, शर्मिला बिसुराल, उपाध्यक्ष गजुरी गाउँपालिका तथा अन्य वडाध्यक्षहरु उपस्थित थिए। विजेता र उपविजेता टोलीहरुलाई प्रमाणपत्र, मेडल र कप वितरण गरिएको थियो।

प्रतियोगितामा सहभागी ३२ वटा विद्यालय लाई पुस ९ गते उद्घाटनका दिन एन्फा तथा फिफाद्वारा खेलकुद सामग्री प्रदान गरिएको थियो। उद्घाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष पंकज नेम्वाङ उपस्थित थिए ।

यू–१४ छनोट प्रतियोगितामार्फत जिल्लाबाट उत्कृष्ट खेलाडीहरु चयन गरी आगामी प्रदेश तथा राष्ट्रिय प्रतियोगिताको लागि तयारी गरिने एन्फा धादिङले जनाएको छ।