
धादिङ । धादिङको उत्तरी क्षेत्र, रुबीभ्याली गाउँपालिका स्थित मुक्रापदेवी माध्यमिक विद्यालयमा हालै दुई दिने आयुर्वेद तथा योग शिक्षा शिविर सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक तिर्थराज सुवेदीका अनुसार, शिविरमा कक्षा ८ देखि १२ सम्मका १५ विद्यार्थी र ४ जना शिक्षक सहभागी भएका थिए।
शिविर सेर्तुङबोराङ आयुर्वेद औषधालय, धादिङको सहयोगमा सम्पन्न भएको थियो। कार्यक्रममा जयबहादुर रोकाय र परशुराम मण्डलले सहभागीहरुलाई आयुर्वेदिक शिक्षा र योग अभ्यास सम्बन्धी सहजिकरण प्रदान गरेका थिए।

प्रधानाध्यापक सुवेदीले विद्यार्थीहरुमा स्वास्थ्यबारे सचेतना बढाउन र योग तथा आयुर्वेदका अभ्यासलाई दैनिकीमा समावेश गर्न यस्तो शिविर अत्यन्त उपयोगी रहेको बताए।
शिविरले विद्यार्थीहरुलाई आयुर्वेदिक ज्ञान र योगाभ्यासको महत्व बुझ्न सहयोग गरेको र विद्यालयमा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताइएको छ।

