
धादिङ । अमेरिकामा रहेको नेपाली समाज टेक्सस (NST) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर १३ मा भएको निर्वाचनबाट धादिङका उजित अधिकारी स्पोर्ट्स को–अर्डिनेटर पदमा निर्वाचित भएका छन्।
धादिङको नीलकण्ठ नगरपालिका निवासी उजित अधिकारी विगत नौ वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। उनले १ हजार ६ सय ९५ मत प्राप्त गर्दै सो पदमा विजय हासिल गरेका हुन्।
निर्वाचनमा कुल ६ हजार १ सय ९१ मतदाता रहेका थिए। तीमध्ये ३ हजार ८ सय ७० जनाले मतदान गरेका थिए।
खेलकुदमार्फत नेतृत्वसम्म
उजित अधिकारी सन् २०१६ देखि अमेरिकामा बस्दै आएका छन्। उनी सन् २०१७ देखि खेलकुद क्षेत्रमा सक्रिय छन्।
अमेरिका पुगेपछि उनले फुटबलमार्फत खेलकुद यात्रा सुरु गरे। सन् २०१८ मा उनी लिगामेन्ट इन्जुरीबाट प्रभावित भए। इन्जुरीका कारण खेल जीवनमा कठिन समय आयो। तर उनले हार मानेनन्।
सन् २०१९ देखि उनले पुनः कोचिङ यात्राको सुरुआत गरे। निरन्तर अभ्यास र मेहनतपछि उनले सन् २०२३ मा US Soccer को Professional C License प्राप्त गरे।
उजित अधिकारी Young Nepal Football Club का संस्थापक सदस्य हुन्। सो क्लबमार्फत उनले बालबालिका तथा युवालाई नियमित फुटबल प्रशिक्षण दिँदै आएका छन्।
यससँगै उनी सन् २०२२ देखि क्रिकेटमा पनि सक्रिय छन्। हाल क्लबभित्र क्रिकेट शाखा स्थापना गरी क्लबलाई बहु–खेलकुद संस्थाका रूपमा विस्तार गरिएको छ।
छोटो समयमै उजित अधिकारीले टेक्ससस्थित नेपाली समुदायमा सकारात्मक पहिचान बनाउन सफल भएका छन्।
