
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा दोस्रो गाउँपालिका स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी स्वयंसेवकहरूलाई नगदसहित सम्मान गरेको छ।
“स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा न्यूनतम सेवा मापदण्डका आधारमा उत्कृष्ट ठहरिएका जोगीमारा स्वास्थ्य चौकी र महादेवस्थान स्वास्थ्य चौकीलाई ५०–५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
यसैगरी मूल्याङ्कनका आधारमा ४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, ४ जना पोषण स्वयंसेवक, साथै उत्कृष्ट कार्यसम्पादन गर्ने १ जना पारामेडिक्स, १ जना नर्सिङ स्टाफ र १ जना कार्यालय सहयोगीलाई पनि नगदसहित सम्मान प्रदान गरिएको छ।
सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई गाउँ-टोल समाजका “पहिलो डाक्टर” को संज्ञा दिएका थिए ।
“जहाँ मान्छे बिरामी पर्छ, जहाँ ज्वरो आउँछ, त्यहाँ सबैभन्दा पहिले खोजिने व्यक्ति महिला स्वास्थ्य स्वयंसेविका नै हुन्,” तसर्थ पहिलो डाक्टर स्वास्थ्य स्वयंसेविका हुन् उनले भने ।
अध्यक्ष थपलियाका अनुसार स्वास्थ्य क्षेत्रको सेवा–सुविधाको मूल्याङ्कन कम देखिए पनि स्वयंसेविकाहरूले गरेको त्याग, समर्पण र सेवा सधैं उच्च सम्मानको योग्य रहने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रमले स्वास्थ्य संस्थाको सेवाप्रति थप प्रोत्साहन मिल्ने र समुदायस्तरमा स्वास्थ्य सेवाको प्रभावकारिता अझ मजबुत बन्ने अपेक्षा गरिएको छ।
