
धादिङ । धादिङबेसीस्थित ऐतिहासिक पशुपति मन्दिरमा मंसिर २ गते साँझ जात्रा तथा शतविऊ छर्ने धार्मिक मेला आयोजना हुने भएको छ। हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको दिन यो मन्दिर परिसरमा मेला लाग्ने परम्परा रहिआएको छ।
सुनौलाबजारबाट जिल्ला सदरमुकाम धादिङबेसी सर्नु अघि नै वि.सं. २०१९ सालमा पशुपति मन्दिर निर्माणको छलफल सुरु भएको थियो। त्यसपछि वि.सं. २०२३ सालमा तत्कालीन राजा महेन्द्रले शिवमन्दिर निर्माणको अनुमति दिएसँगै यो मेला नियमित रूपमा मनाइँदै आएको हो।
त्यतिबेला धादिङबेसी सदरमुकाम रहेको क्षेत्र वयरघारी र खेतका फाँटहरूले भरिएको थियो। साङ्कोष, मुरलीभञ्ज्याङ, पाल्पा र साँखुका स्थानीय बासिन्दाहरूको पहलमा पशुपतिनाथ मन्दिर निर्माण गरिएको थियो । मन्दिर बनेको वर्षदेखि नै गाउँ–गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नाममा शतविऊ छर्ने चलन सुरु भएको स्थानीय मिलन भण्डारी/कृष्ण शिरिर बताउँछन् ।
यस वर्ष पनि मंसिर २ गते साँझ मेला तथा जात्रामा धादिङबेसी र वरपरका भक्तजनहरूको ठूलो सहभागिता हुने अपेक्षा गरिएको छ। मन्दिर परिसरमा विशेष पूजा, दीप प्रज्वलन र धार्मिक गीत–संगीतका कार्यक्रम पनि हुनेछन्।
