
काठमाडौं । यही कात्तिक २० र २१ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ।
नेपाल सरकारकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्येक वर्ष दुई चरणमा सञ्चालन गर्दै आएको यस कार्यक्रमको पहिलो चरण वैशाख ६ र ७ गते र दोस्रो चरण कात्तिक २ र ३ गते सञ्चालन हुने परम्परा थियो। तर यस वर्ष सो मितिमा दिपावलीको लक्ष्मीपूजा पर्न गएकाले, मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको हो।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार देशभरका ७५३ स्थानीय तहमा सञ्चालन हुने दुईदिने अभियानमा करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ।
यस अभियानका लागि करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ।
डा. लालका अनुसार ६ महिना देखि ११ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइने छ।
महाशाखाले अघिल्लो चरणमा भिटामिन ‘ए’ क्याप्सुल सेवन दर ९० प्रतिशत र जुकाको औषधि सेवन दर ८७ प्रतिशत पुगेको जानकारी पनि दिएको छ।
