तेस्रो अञ्जन स्मृति कप फुटबल मझिमटारमा असोज २५ देखि हुने

Avatar photo
Dhadingpost
अशोज २१, २०८२

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको मझिमटारमा तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता असोज २५ गतेदेखि सुरु हुने भएको छ । अञ्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङले आयोजना गर्न लागेको यो प्रतियोगिता मझिमटार खेलमैदानमा हुनेछ ।

पहिले असोज ४ गतेदेखि सुरु हुने भनिएपनि आयोजकले तयारी र व्यवस्थापकीय कारणले मिति सार्दै असोज २५ गतेबाट सुरु गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतियोगितामा विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित सम्मान पाउनेछन् । त्यस्तै सेमिफाइनलमा रोकिएका दुई टोलीलाई जनही १०–१० हजार रुपैयाँ, अनुशासित टिमलाई ५ हजार रुपैयाँ, साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र गोलकर्तालाई पनि जनही ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

३४ वर्षीय स्व. अञ्जन सिलवालको सम्झनामा प्रतिष्ठानले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको हो । तत्कालीन माओवादी केन्द्रका बेनीघाट रोराङ–९ का सचिवसमेत रहेका सिलवालको चुम्लिङमा मोटरसाइकल दुर्घटनामा निधन भएपछि उनलाई सम्झँदै परिवार र साथीहरूले अञ्जन स्मृति प्रतिष्ठान स्थापना गरेका थिए ।

प्रतिष्ठानका अनुसार प्रतियोगिताले स्थानीय युवा खेलाडीहरूलाई फुटबलप्रतिको रुचि बढाउन, आपसी सद्भाव र एकता सुदृढ गर्न, र मझिमटार क्षेत्रलाई खेलकुद केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिँदै आएको छ ।

विगतका दुई संस्करण

अञ्जन स्मृति कपको पहिलो संस्करण फुटबलमा भेटेरान समूहले उपाधि जितेको थियो । सो प्रतियोगिताको फाइनलमा चितवनका खेलाडी विक्कीले एक्लैले गजुरी समाजविरुद्ध पाँच गोल गर्दै टोलीलाई उपाधि दिलाएका थिए । सोही खेलमा विक्की व्यक्तिगत रूपमा पुरस्कार रकमकै कारण विशेष चर्चामा आएका थिए । उनले प्रतिगोल १० हजारका दरले गाउँपालिकाबाट ५० हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताका रूपमा ३ हजार, उत्कृष्ट खेलाडीको रूपमा ३ हजार, साथै एक स्थानीय व्यवसायीले प्रतिगोल ५०० का दरले २ हजार ५०० रुपैयाँ प्राप्त गरेका थिए । यसरी उनले जम्मा ५८ हजार ५०० रुपैयाँ जित्न सफल भएका थिए, जुन रकम प्रतियोगिताको प्रथम पुरस्कारभन्दा पनि बढी थियो ।

त्यस्तै, गत वर्ष सम्पन्न दोस्रो संस्करणमा भने भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। सो खेलमा नेपाली भलिबलका परिचित खेलाडी नविन महतो ‘पुतली’ सहभागी हाम्रो मुग्लिन, इच्छाकामना टिम विजयी बन्न सफल भएको थियो ।

x