
कोलोराडो (अमेरिका) । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्ड्स अफ नेपाल को आयोजनामा आउँदो अक्टोबर १८ तारिख (शनिबार) नेपाली सांस्कृतिक केन्द्र नेपाली घर मा दशैं–तिहार विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना हुने भएको छ।
संस्थाले विगतका वर्षहरूमा झैं यस वर्ष पनि नेपालीभाषी समुदायबीच भाषा, संस्कृतिको संरक्षण र आपसी एकता प्रवर्द्धन गर्ने उद्देश्यले शुभकामना कार्यक्रमको तयारी गरेको हो।
तर, संस्थाका उपाध्यक्ष हरी गुरुङ का अनुसार, यस वर्ष मातृभूमि नेपालमा हालै भएका जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, यसपटकको सांस्कृतिक साँझ कार्यक्रम स्थगित गरी केवल शुभकामना आदान–प्रदान कार्यक्रम मात्र आयोजना गर्न निर्णय गरिएको छ।
कार्यक्रम दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। यसमा कोलोराडोमा बसोबास गर्ने सक्रिय संघ–संस्था, व्यवसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार, साथै नेपाल र नेपालीप्रति सद्भाव राख्ने अमेरिकी तथा नेपालीभाषी समुदायलाई उपस्थित रहन संस्थाले आग्रह गरेको छ।
उपाध्यक्ष गुरुङका अनुसार, “यो कार्यक्रम सबै नेपालीभाषीहरूलाई एउटै ठाउँमा भेला भई एकआपसमा भलाकुसारी गर्दै दशैं र तिहारको शुभकामना साटासाट गर्न पाउने सुनौलो अवसर हो । भाषा, संस्कृतिको संरक्षण र नेपाली पहिचान सुदृढ गर्न सबैको सहभागिता आवश्यक छ,” भन्नु भएको छ।
संस्थाले सामाजिक सञ्जालमार्फत सबैलाई साथीभाइ, इष्टमित्र र छरछिमेकसहित कार्यक्रममा सहभागी भई सहयोग गर्न निमन्त्रणा पनि पठाएको छ ।
















