
दिपक विश्वकर्मा
उपप्रमुख, नीलकण्ठ नगरपालिका
जनयुद्धका लोकप्रिय नेता मुकुन्द सेन राजभण्डारी “सन्देश”को २३औँ स्मृति दिवसका अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । २०५९ साल भाद्र २९ गते, निरंकुशता र दमनविरुद्धको संघर्षकै बीच बैठकमा जाने क्रममा तत्कालीन सेनाले घेरा हाली हत्या गरेपछि देशले एक इमानदार जननेता गुमाएको दिन हो । सुनौलाबजार, खाल्टे, कल्लेरी, कुम्पुर लगायतका क्षेत्रका जनताको सेवामा समर्पित उहाँको योगदान आज पनि स्मरणीय छ ।
त्यसैले आजको दिनमा तपाईँको २३ औं स्मृति दिनमा आफु/म बदलिने संकल्प प्रतिवद्धता आजको आवश्यकता हो, खाँचो हो । आत्माआलोचना सहुत रुपान्तरण हुने प्रतिबद्धता, संकल्प गर्ने दिन हो । म आफु आत्माआलोचना सहित माफी माग्दछु।
उपलब्धिमूलक यात्रा र चुनौती
नीलकण्ठ नगरपालिकामा मुकुन्द सेन स्मृति मार्ग (धादिङबेसी–सुनौलाबजार–फोस्रेटार) प्रादेशिक लोकमार्ग र मुकुन्द सेन पार्क निर्माणजस्ता उपलब्धिमूलक कार्य प्रदेशका माननीय, पार्टी नेतृत्व र सरकारको सहयोगमा सम्पन्न भएका छन् । यी प्रयासहरू कुनै स्वार्थका लागि होइन, सहिदको सपना साकार गर्ने जनउत्तरदायित्वको हिस्सा हुन् । तर, यस्ता कामका बीचमा कहिलेकाहीँ स्वार्थ समूहको साक्षी बनेको आभास नभएको होइन । कमजोरी स्वीकार गर्दै पनि मैले सुशासन, सामाजिक न्याय र समृद्ध नीलकण्ठ नगरका लागि निरन्तर प्रयत्न गर्दै आएको छु । अझै पनि अवस्था बदल्ने अभियानमा जिम्मेवारीपूर्वक लागिरहने दृढ संकल्प गर्दछु ।
सहिदको बलिदान र आजको प्रश्न
प्रिय सहिद मुकुन्द सेन, तपाईंहरूको बलिदान नै व्यवस्था र अवस्था बदल्ने अन्तिम आधार होस् भन्ने हाम्रो आकांक्षा थियो । तर, आज फेरि जेन–जि पुस्ताका ५० भन्दा बढी युवाले भ्रष्टाचार र बेथितिविरुद्ध बलिदान दिनुपरेको छ । यसले हामी जेन–वाइ र जेन–एक्स पुस्तामा गम्भीर प्रश्न खडा गरेको छ ।
हामी मुकुन्द सेनहरूको बलिदानप्रति ईमानदार बन्न सकेनौँ । गलत नेतृत्व र प्रवृत्तिका दास भयौँ । व्यक्तिगत स्वार्थ र अवसरको खेतीमा रमायौँ । समयसापेक्ष क्षमताको विकास गरेनौँ, इमानदारहरूको कदर गरेनौँ । उल्टै, भ्रष्टाचार र कुशासनका सारथी बन्यौँ ।
माओवादी नेतृत्वले पछिल्लो नौ महिनामा ठूला–ठूला भ्रष्टाचारीलाई कारबाही गर्ने लडाइँ चलाइरहँदा सत्ता बाहिरिनुपरेको अवस्थाले निराशा पक्कै ल्याएको छ । तर, सडकबाट निरन्तर खबरदारी नगरेको पनि होइन । र पनि, यो प्रश्नबाट माओवादी युवाहरू पनि मुक्त हुन सक्दैनन् ।
रुपान्तरणको आवश्यकता
आजको दिनमा देशभक्त क्रान्तिकारी युवाहरूले सबैभन्दा पहिला आफूलाई सच्चाउनुपर्छ । गल्ती–कमजोरीलाई स्वीकार गर्दै, नेतृत्वलाई निरन्तर खबरदारी गर्दै, आम जनतालाई हातेमालोमा बाँध्दै नयाँ आशा र नयाँ सपनासहित अघि बढ्नुपर्छ ।
सत्यनिष्ठ आत्मआलोचना र रुपान्तरणमार्फत मात्र सहिद मुकुन्द सेनदेखि लिएर जेन–जि विद्रोहका तमाम सहिदहरूको सपना साकार गर्न सकिन्छ । यही हो उनीहरूलाई दिने वास्तविक श्रद्धाञ्जली ।

निष्कर्ष
सहिद मुकुन्द सेनको २३औँ स्मृति दिवसले हामीलाई बलिदानको मूल्य सम्झाउँछ। यो दिवसले हामीलाई भूतको सम्झनामा मात्र होइन, भविष्यको मार्गदर्शनमा पनि जोड्छ। आज, हामी सबैले आत्मसुधार र रुपान्तरणको बाटो समात्दै सहिदको सपना साकार गर्ने प्रतिज्ञा गर्नुपर्छ।
उच्चसम्मान सलाम मुकुन्दसेन
उच्च सम्मान सलाम जेनजि विद्रोहका सहिदहरूलाई
