
यदि तपाईंले “प्रेम कथा: आकृती” को पहिलो भाग नपढ्नुभएको भए, यसलाई तलको लिंकमा गएर पढ्न सक्नुहुन्छ: 👉 प्रेम कथा: आकृती – धादिङपोष्ट यस कथामा लेखक केशव पुलामी मगरले आफ्नो र आकृती बीचको प्रेम सम्बन्धको उत्थान र पतनलाई भावुक र यथार्थपरक शैलीमा प्रस्तुत गरेका छन्। कथा प्रारम्भमा इलामको फिक्कलमा भएको अनौपचारिक भेटबाट सुरु हुन्छ र पछि काठमाडौंको व्यस्त जीवनमा प्रेम र सम्बन्धका उतारचढावलाई समेट्छ। कथामा प्रेम, विश्वास, र विछोडका भावनात्मक पाटोहरूलाई गहिरो रूपमा चित्रित गरिएको छ।
अब हामी “प्रेम कथा: आकृती” को भाग २ सुरु गर्छौं ।
बेलुकीको सात बजिसकेको थियो। मुसलधारे पानी परेपछि रेनकोटले समेत थेग्न नसक्दा बाटोमै ओत लाग्न बाध्य भएँ। कलंकी नजिकै, म जस्तै थुप्रै मानिसहरू टाउकोमा हेल्मेट ओढेर बन्द सटरमा अडेस लगाएर उभिएका थिए।
सडकमा सार्वजनिक सवारी साधनहरू बिस्तारै हराउँदै थिए, तर निजी गाडीहरू भने अझै छपक्कै दौडिरहेका देखिन्थे। सडकको बीच भागमा धमिलो पानीको भल घट्ट घुम्ने जस्तो गरी बगिरहेको थियो।
म त्यसै भललाई नियाल्दै कल्पनामा डुबें— “यति वेगले बगिरहेको यो पानी अन्ततः कहाँ पुग्ला? कसलाई उछिन्न पुग्ला? कसलाई जित्ला? र कसलाई भेट्ला?”
अन्ततः त यसले किनार छोडेर अघि बढ्नै छ। मान्छे पनि उस्तै हुन्। बाटोमा भेटिएका, प्रतीक्षा गरिरहेका, आफ्नै ढङ्गले बाँचिरहेका धेरैलाई छाडेर, हतार–हतार अघि बढ्नुपर्ने बाध्यता हुन्छ।
तर प्रश्न भने मेरो मनमा बारम्बार घुमिरह्यो-“संसारको यो दौडमा सबै किन हतार–हतार मात्र गर्न चाहन्छन्?”
एउटा केटो छाता ओढेर हतार–हतार झरीमा कुदिरहेको थियो। हामी अगाडि लाइनै बसेका थियौँ। अचानक चिप्लिएर ऊ उत्तानो पर्यो। लाइनमा बसेका एक पुरुषले मानवता देखाउँदै उठेर मद्दत गरे। तर छाताले आधा मात्र काम गर्यो, ऊ भिजेको भिजेकै उठ्यो। खुट्टा खोच्याउँदै फेरि अगाडि बढ्यो।
म मनमनै सोचिरहेँ— “के यस्तो हतार आवश्यक थियो त? यो झरीमा ज्यान फालेर कुद्नुको के अर्थ?”
मलाई भने कुनै हतार थिएन। मलाई थाहा थियो— जीवनमा ढिला भए पनि अन्ततः गन्तव्यमा पुगिन्छ। हतारिनेहरू त जहाँ पुगे पनि दौड–धप मात्रै गर्ने हो।
थोरैमा वर्षा थामियो। मानिसहरू आ–आफ्नो सवारी चढ्दै घरतर्फ लाग्न थाले। म पनि मेरो पुरानो सारथीमा चढेँ, घर फर्कन।
र, मनमनै एउटा गीत गुनगुनाइरहेँ—
“धेरै वर्षपछि,
आज फेरि तेस्तै झरी पर्यो…
तिमीलाई सम्झेर हो कि,
हाँस्दा–हाँस्दै आँसु झर्यो…”
धेरै वर्षपछि झरी मात्र परेन, स्मृतिहरू पनि साथमा बरस्यो…
सम्झना त अपार छ—
त्यो समयमा ती दुई पात्र,
जसरी आकाशबाट उल्का खस्छ,
ठ्याक्कै त्यस्तै गरी मेरो मनमस्तिष्कबाट पोखिएका थिए।
मैले सम्हाल्न नसकेको प्रेम,
इज्जतले छोपेर राखेको माया—
अन्ततः पोखिनु नै रहेछ,
हतार–हतारमा निस्कनु नै रहेछ।
अब त झन् के सम्हालेर राख्न सकूँ र!
मन्द मनमस्तिष्कमा,
दिलभित्र गहिरो चोट पर्यो—
नभिज्ने तर सदैव दुखाउने चोट।
नमिट्ने डामहरू बसेरै रहन्छन्।
घरी–घरी लाग्छ—
फूलसँग ठोकिएको भए त,
बस्नाको लहर झैँ फैलिन्थ्यो होला।
तर यो मन त पथ्थरसँग ठोकियो—
पत्थरसँग ठोकिँदा लाग्ने चोट त सहनै पर्ने रहेछ।
अबोध प्रेम माथि परेको यो आघात,
गहिरो पीडाले जीवनलाई जागरुक बनाइदियो।
एउटा उपहार स्वरूप पूर्वको साथीले लेखक पुरुषोत्तम न्यौपानेद्वारा लिखित निलो प्रेम पठाइ दिएका थिए। एक साता बितिसक्यो, तर पढ्ने खासै जागर चलेन। सिरानीमा तेस्तै थन्किएर बसिरहेको छ। आज रात पनि म पन्ना पल्टाइनँ, किताब त्यत्तिकै छ, म चाहिँ बेडमा पल्टिन्छु— खाली मन तर भारी बोझ जस्तै।
मेरो एक मात्र साथी भनेको यही सिरानी हो। यसले धेरै कथा सुनेको छ, मेरो चिच्याहट सहेको छ, आँखाबाट खसेको आँसु सोकेको छ। यसले मेरो खुसी देखेको छ र पीडामा साथ दिएको छ। अरू कोही छैन, बस यही सिरानीसँग कुरा गरिरहेछु, रोइरहेछु। निरन्तर यही क्रम चलिरहेको छ।
आज रात पनि त्यही हो— सिरानीले अहिलेसम्म कहिल्यै प्रतिक्रिया जनाएको छैन, चाहे दु:ख होस् वा सुख। घरी–घरी जीवन देखी नैराश्यता लाग्छ। तर एउटा आत्मबल भने अझै जिवित छ— “भोलि बिहान हुन्छ, नयाँ यात्राको तयारी हुन्छ” भन्ने विश्वास। यही सोच्दै–सोच्दै निदाएको छु।
बिहान सबेरै म बिउँझिन्छु। दैनिकी अब एकदमै सामान्य लयमा चलिरहेको छ। छतमा बसेर परतिर देखिने कालु पाण्डेको समाधि स्थल नियाल्दै कालो चिया पिउनु मेरो बिहानीको एउटा निश्चित समय बनिसकेको छ।
शरीर यतिखेर अस्वस्थ छ। पटक–पटक पाटन हस्पिटल धाएर शारीरिक अवस्था बुझिसकेको छु। डाक्टरको सल्लाहअनुसार महिनौँदेखि एउटै समयमा एन्जाइटी, हेमोग्लोबिन, प्रेसर र साइकियाट्रिकका औषधि खाइरहेको छु। यो कुरा डाक्टर आकृति जान्दछन्। उनको सल्लाहमै म औषधि उत्पादन गर्ने कम्पनी नै फेरेर अर्को कम्पनीको औषधि सेवन गर्दैछु।
आज साँझ पनि छतमा एक्लै बसिरहेको छु—धुम्ती सल्काएर, मोबाइलमा एउटा अन्तर्वार्ता सुन्दै। अचानक वाट्सएपमा सन्देश आयो। हेरेँ—डाक्टर आकृति नै रहेछन्।
“आतङकारी, धेरै सम्झना! औषधि खानुभयो?”
म मुस्कुराएँ । मनमा लाग्यो-अहा, अब बल्ल बल्क खोलिदिएछन्।
मैले केही जवाफ फर्काइन। मलाई जरुर थिएन, किनकि किनारापारिको चिप्लेटीमा अरू कसैले सैँशला खेल्छ भन्ने मलाई थाहा थियो। म किन अत्तिनु? किन मात्तिनु? मलाई थाहा थियो— उनीलाई म आवश्यकता थिएन। आवश्यकता त त्यो दिन थियो, जब मलाई शारीरिक अपाङ्गता भएको मान्छेले बैसाखीको सहारा खोजेको थियो।
जुन दिनसम्म मेरो कल्पनामा जो थिए, उनी मलाई आवश्यक थिए। सारा परिस्थिति बुझेर मेरो बैसाखी खोलामा बगाइदिनेहरूलाई मैले कुनै मनोकांक्षा गरेको थिइनँ। तर भावना भने जोडिएको थियो। “सजिलै माया मार, भुलिदेऊ” भन्ने भाव यहाँ थिएन। यो हावाले जसरी स्पर्श गरेर गयो, मनमनै लाग्छ— उता पनि यसरी नै मायाले स्पर्श गरोस्। कतै न कतै मेरो कुनै न कुनै अभावसहित दिलाओस्।
तर, यो कल्पनाको रंग भने इन्द्रेणीभन्दा पनि अचम्मको लाग्छ। कल्पना त कल्पना नै हो— जे भए पनि, म कल्पना गरिरहन्छु।
यही दिनको साँझ, करिब ८ बजेको थियो। म छतमा थिएँ, उस्तै गरी कालुपाण्डेको समाधि तिर फर्क्दै। घरी–घरी चन्द्रागिरीको टुप्पोमा धुम्म बसेको सेतो कुहिरो नियाल्दै म शून्यतामा रमाइरहेको थिएँ। अब मेरो सँग कसैको आशा छैन, कसैको भरोसा छैन।
दिनहरू प्रायः उदास र निराशमा बित्छन्। कोहीसँग ठोक्किए पनि समय बित्छ, तर रातको सजाय कठोर लाग्छ। रातले चुपचाप, नजानीदोसरी, नदुखाई रुवाउँछ; नघोची दुखाउँछ। रातको यातना कठोर, पिडादायी र निर्दयी छ।
आजको दिनको एउटा सानो घटना सम्झन्छु—म सामाखुसीमा, एउटा कार्यक्रमको लागि बिहान ११ बजे अतिथिको रूपमा पुगेको थिएँ। आफ्नो मन्तव्य सकाइसकेपछि, ह्वाट्सएपमा म्यासेज आयो:
“अगष्ट २० साँझ (अर्थात् भोली साँझ) म थप अध्ययन र कामका लागि बेलायत जाँदैछु। तिमी संग समय भए लाजिम्पाटको क्याफेमा भेटौं। म २ बजे आइपुग्छु।”
कार्यक्रमको प्रमुख अतिथिले मन्तव्य समाप्त गरेपछि कार्यक्रम सकियो। चिया र बिस्कुट खाइसकेपछि सबैसँग बिदा लिएँ र म कार्यक्रम स्थलबाट निस्किएँ।
दिनको करिब १:३५ बजेतिर म बनस्थली ढुङेधाराभित्र टिमुर रेस्टुरेन्ट पुगेँ। मनमा सोच्दै थिएँ—लाजिम्पाट जाउँ कि नजाउँ। यसो सम्झेपछि मैले निर्णय गरेँ, सायद यो हाम्रो अन्तिम भेट हुन सक्छ।
बज क्याफे पुगेपछि उनी र उनको एक्जाम साथी, डाक्टर, त्यहाँ थिए। म पुगेपछि उनका साथी उठेर गए, हामी दुई मात्र बाँच्छौं। आस्तिको आर्टिकल मैले पनि पढेँ; दुःख भयो। हामी सामान्य कुरा गर्दै थियौं। उनले मलीन अनुहार बनाएर भने, “सके पढेर फर्किनुस्, उतै बस्नुपर्यो भने पनि।” मैले भनेँ, “यत्रो पढेर विदेश बस्नुको ज्ञान हासिल गरेपछि आफ्नै देश फर्किन अवसर छ। डाक्टर रामेश कोइरालाजस्ता ज्ञानी डाक्टरले मुलुक छोडे, तर म जस्ता हजारौं यहाँ छन्।”
उनको कुरा सुनेपछि म चुपचाप बसें। उनीहरूले खाजा खाइसकेका थिए, म कालो कफी पिइरहेको थिएँ। करिब ४५ मिनेट गफ गरेपछि मैले केही सानो उपहार लुकाइ राखेको खादा खल्तीबाट निकालेर उनलाई दिइरहेँ। “शुभ यात्रा, शुभकामना,” भनेँ। उनी आँखा भिजाउँदै, “धन्यबाद… सायद हामी अब भेट्ने मौका नपाउनेछौँ, तर तिमीलाई सम्झी रहनेछु,” भनिन्।
मैले उनको मुहार हेर्ने प्रयास गरेँ, उनीले भुइँतिर हेरी आंशु झारिन्। हामी तल झरेर ट्याक्सीमा चढ्यौं; उनी आफ्नै निवास तिर लागिन्। म आफ्नै घर तिर भारी मन बोकेर फर्केँ। सम्झना यस्तै रह्यो—बिहान पनि त्यो दिनको सम्झना मनमा थियो।
मैले म्यासेज गरेँ: “शुभयात्रा, शुभकामना।” उनी एयरपोर्ट पुगेपछि प्लेनमा बसेको फोटो पठाइन्। हाम्रो जोडी अलग भए पनि, हाम्रो प्रेम मनमा अझै जीवित छ। मनमनै भनीरहेँ—फेरि भेटेर एकैछिन संगै बस्न मन छ, उनको आँगालोमा बस्न, उनका आँखा हेर्न, उनको नजिक बस्न।
गुम्सिएको भावना आजसम्म भन्न सकेको छैन, तर भारी मन उनको पोल्टामा जस्तो फुकाइदिन मन छ। पर्खाइमा अल्झिएका हाम्रा आयु छोटो छ—तिमी चाँडै फर्कनु। हामी दुई किनारा भए पनि म तिमीलाई सधैं माया गर्नेछु, सम्झी रहनेछु।
मनको कुरा कसैले कोट्याउन सक्दैन। कतै दोब्बर बाटोमा भेट हुनेहरू पनि मानस पटलमा रहिरहन्छन्। भावना जोडिएको मान्छेलाई कसरी भुल्न सकिन्छ र? भलै सम्बन्धमा छोटो ब्रेक लाग्यो, तर प्रेम कहिल्यै मेटिँदैन।
आफ्नो गुजारा चलाउने दैनिकी छँदै छ, र अर्को तर्फ राजनीति मेरो हबी, मेरो चेतना हो। म अझै राजनीति तल्लिन छु—फुर्सद मिले सम्म।
दिनको करिब २–३ बजे, एउटा छलफलको लागि कोठेस्वर पेरिस पलाजामा पुगेको थिएँ। झमझम पानी परिरहेको थियो। अन्ततः कम्रेड आए। हाम्रो सम्बन्धमा ब्रेक लागेपछि यो पहिलो भेट थियो। पहिले जस्तो हसिलो अनुहार उनले देखाइनन्। हामीले हात मिलायौं, सायद उनलाई पनि अफ्ठ्यारो लागेको थियो—अनुहार फिक्का थियो। म मनमनै सम्झेँ, उनीसँग पनि केही समयले बितेको छ, तर पहिले जस्तो खुलस्त कुरा हुन सकेन।
पानी रोकियो, छलफल सकियो। घर फर्किने समय आयो। मैले भनेँ, “छुट्ने बेला आउँ।” उनी मेरो मुख नहेरी, नबोली मोबाइलमा व्यस्त रहे। मैले कुनै जबर्जस्ती नगरी फर्किएँ। पार्किङबाट बाइक निकाल्दै, मनमनै गित गुनगुनाएँ—
“भेटिएर छुटिनु भन्दा, नभेटिएको भए जस्तै हुन्थ्यो। हाम्रो सम्बन्ध अझै कति माथि हुन्थ्यो।”
आफ्नै सुरले बाइक हाँक्दै बानेश्वर पुगेको थिएँ। जामले रोकियो, मनका तरङ्ग कहाँबाट कहाँ पुग्छ थाहा थिएन। कलंकी पुग्नुपर्ने थियो। जाम खुलेपछि बायाँ मोडेँ, सङ्खमुल ओरालो तिर लागेँ। सङ्खमुलको पुरानो झोलुङ्गे पुलको मुखमा एउटा जुस पसल थियो। त्यहाँ बाइक रोकेर एभोकाडो मिक्स जुस मागेर पिएँ।
तर त्यो जुसको स्वादमा कुनै विशेष अनुभूति भएन। मेरो घर्को दिलमा ठूलो एभोकाडोको रुख छ, जुन प्रत्येक वर्ष फलाउँछ। तर मलाई मन पर्दैन। सँगै हुँदा, मायाले बाँडेर खाएको त्यो मिठो स्वाद अलग थियो। आज मन परेन। आधा गिलास छोडेर निस्केँ।
सङ्खमुलको किनारै किनार हिँड्दै गर्दा कम्रेडले गरेका कठोर कारबाहीहरू सम्झेँ। लुकी–लुकी सञ्जाल हेर्छु, मनको न्यास्रो मेटिन्छ। जीवनसँगै जिउने सपना देखेका थियौं। मेरो खराब भन्दानी, खराब समयको सरथी बनेको छ। यसैले सजिलै भुल्न सक्दैन त्यो माया, त्यो चुब्बन, त्यो पर्स, त्यो आत्मीय मिलन। तिमी जस्तै न्यानो र तिमी जस्तै शीतल अब अरूसँग कहिले अनुभव गर्न पाउँला?
धेरै समयदेखि ह्वट्सएपमा हेरे पनि, नहेरे पनि म उनलाई “गुड मोर्निङ”, “गुड नाइट” भनेर म्यासेज पठाउँछु। कम्रेडले शायद हेर्नु हुन्न, म्यासेज अरू कसैको आउँछ। मेरो नाम स्क्रोल गर्दै तल पुग्छ होला, तर मेरो म्यासेज हेर्न जरुरी ठान्दैन होला। रिप्लाइ आउँदैन, तर म खुसी छु। मेरो लागि समय नहोस्, मलाई थाहा छ—तिमीले सुरु गरेको बाटो मलाई पनि थाहा छ।
पोहोर साल युरोप बसेर हराएका राम्रा मान्छे सम्झेँ, फेरी जोडिएको होला। मन दुखाउनका लागि हो भने हामीले पनि दुनियाँका सुख–सुविधा त्यागेर तिमी सँग प्रेममा भुलेका थियौं। आज पनि म छतमा बसेर कालुपाण्डेको समाधि स्थल मुनीको गुम्बा हेर्दै यो माया, यो कथा भर्दै छु।
अलिकति अघि साँझ ह्वट्सएपमा नोकझोक भयो। स्वर सुन्न नपाए पनि शब्दमा माया देख्छु। भिन्न यत्ति हो—हिजो “हजुर” भन्थे, आज त “तँ” भन्छ। कतै न कतै देखी रहोस्, भेटिरहोस्। म बोलेको छैन, तर तिम्रो आवाज सुन्न पाउँ। स्पर्श गर्न नपाए पनि कम्तीमा देखी रहोस्।
कम्रेड, अब हामी “लाल सलाम, कम्रेड” भनेर सम्बोधन गरौँला। तर कतै न कतै मैले देखी रहोस्, सुनी रहोस्। बस, तिमी मेरो अन्तिम प्रेमी हौ, मेरो दिलको घाउ हौ। मेरो भावनाले स्पर्श गरिरहुन पाओस्।
(यो कथाको सम्पूर्ण पात्र र परिवेश काल्पनिक हुन्। कसैसँग मेल खाने भए संयोग मात्र हुनेछ। लेखक: केशव पुलामी मगर, धादिङ ९८५१२४०१४३०)

