
१. परिचय
नेपाल सरकार र JICA को सहयोगमा सञ्चालित आधारभूत विद्यालय शिक्षा सुधार परियोजना (The Project for the Improvement of Basic School Education – IBSE) को उद्देश्य आधारभूत तह (कक्षा १–३) को गणित पाठ्यक्रम कार्यान्वयनलाई विद्यालयमा आधारित शिक्षकको पेशागत क्षमता विकास (TPD) गतिविधिमार्फत सबलीकरण गर्नु हो ।
बागमती प्रदेशको धादिङ जिल्लामा सञ्चालित यस परियोजनाले शिक्षक पेशागत विकास, पाठ्यक्रम कार्यान्वयन, गणित शिक्षा सुधार र पाठ अवलोकनमा सहयोग पुर्याउने लक्ष्य राखेको छ। यस परियोजनाको कार्यालय शिक्षा विकास तथा समन्वय इकाइ, धादिङमा रहेको छ ।

२. धादिङ जिल्लामा गरिएको गतिविधिहरू
- आधाररेखा सर्वेक्षण (Baseline Survey):
प्रत्येक गाउँ/नगरपालिकाको एक/एक विद्यालयमा आधारभूत तह (कक्षा १–३) को गणित सिकाइ अवस्था, Mathematics Academic Test र पाठ्यक्रम कार्यान्वयनको अवस्था, शिक्षकहरूको क्षमता विकास, शिक्षण–सिकाइ प्रक्रिया र विद्यार्थी सहभागिताको प्रारम्भिक तथ्याङ्क संकलन गरियो ।
उक्त सर्वेक्षणमा विद्यालयका प्रधानाध्यापक, गणित शिक्षक, अन्य विषयका शिक्षकहरू र कक्षा ४ का विद्यार्थीहरू सहभागी भएका थिए ।
धादिङ जिल्लाका सबै स्थानीय तहअन्तर्गतका नमुना छनोट भएका विद्यालयहरूमा गणित सिकाइ अवस्था, भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा स्रोतको पहुँच, विद्यार्थीको संलग्नता र शिक्षकहरूको व्यवहारिक शिक्षण पद्धतिको प्रारम्भिक अध्ययन गरियो । साथै, राष्ट्रिय शिक्षा नीतिअन्तर्गत लागू गरिएको एकीकृत पाठ्यक्रम (कक्षा १–३) को विद्यालयस्तरीय कार्यान्वयन अवस्थाको पनि अध्ययन गरिएको छ । - स्थानीय सरकारसँग समन्वय:
- जिल्ला समन्वय समिति (DCC), शिक्षा विकास तथा समन्वय इकाइ (EDCU) र १३ वटै स्थानीय तहका शिक्षा शाखाहरूसँग नियमित बैठक तथा समन्वय गरियो ।
- परियोजनाबारे संक्षिप्त जानकारी कार्यक्रम (Brief Orientation Program) सञ्चालन गरियो ।
- विद्यालय भ्रमण, शिक्षकहरूसँग अन्तरक्रिया तथा पाठ अवलोकनमार्फत एकीकृत पाठ्यक्रम कार्यान्वयनको विश्लेषण गरियो ।

३. धादिङ जिल्लामा संचालित थप गतिविधिहरू
- पाठ अध्ययन (Lesson Study) र पाठ अवलोकन:
सहकर्मी शिक्षकहरूबीच सिकाइको आदान–प्रदान गर्ने उद्देश्यले गणित विषयमा कक्षा १–३ का पाठहरूको सहकार्यमा योजना, शिक्षण र पुनरावलोकन गरियो ।
अवलोकन टोलीमा EDCU, LEU, शिक्षकहरू, परियोजना टोली तथा जापानी विशेषज्ञ सहभागी थिए ।
शिक्षकहरूसँग सहकार्यमा पाठ योजना बनाउने, सह-अवलोकन गर्ने र संयुक्त समीक्षा गर्ने गतिविधि सञ्चालन गरियो ।
विशेष गरी गणित र एकीकृत विषयहरूको सन्दर्भमा शिक्षकहरूको शिक्षण पद्धतिमा सुधार ल्याउन, सहपाठी सिकाइ तथा जोडी/समूह सिकाइको अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले पाठ अध्ययन (Lesson Study) को अभ्यास गरियो । - शिक्षक पेशागत विकास तालिम सहजीकरणका लागि OM र भिडियो तयारी:
नेपाली, अंग्रेजी, हाम्रो सेरोफेरो तथा स्थानीय पाठ्यक्रमसँग एकीकृत गर्दै सन्दर्भ भिडियोहरू तयार गरी १० वटा विद्यालयमा परीक्षण गरियो ।
यसबाट शिक्षण विधि र अभ्यासमा पृष्ठपोषण (feedback) संकलन गरिएको छ ।
शिक्षक अभिमुखीकरण र तालिम प्रयोजनका लागि “I ExPECT Framework” (IMPACT, EXPLORE, POSITION, EXPAND, COMMIT, TRACK) मा आधारित Orientation Materials (OM) तयार गरिँदै छ ।
Do First, Scaffolding, Pair Work, From Counting to Intuition, TPS (Think–Pair–Share) Pedagogy मार्फत सह-सिकाइ, प्रयोगात्मक अभ्यास र स्थानीय सामग्री प्रयोग गरेर शिक्षण–सिकाइ देखाउने छोटा भिडियोहरू विकास गरिएको छ ।
यी भिडियोहरू शिक्षण रणनीति, पाठ उदाहरण, कक्षा व्यवस्थापन र मूल्याङ्कनको उदाहरणमूलक अभ्यासमा केन्द्रित छन्, जसले शिक्षकलाई व्यवहारिक शिक्षण र सहजीकरणमा सहयोग पुर्याउँछ । - प्रशिक्षक प्रशिक्षण तालिम (Training of Trainers – ToT) को सुरुवात:
पहिलो चरणमा EDCU मा LEU प्रमुखहरू र रोस्टर प्रशिक्षकमार्फत शिक्षकलाई तालिम दिने प्रशिक्षकहरूको क्षमताविकासका लागि ToT कार्यक्रम यही भाद्र ८ गते, EDCU धादिङमा सञ्चालन हुँदैछ ।
त्यसपछि,- पहिलो चरणमा ७ वटा पालिकाका २९ वटा केन्द्रमा कक्षा १–३ का गणित शिक्षकलाई तालिम दिने तयारी छ ।
- दोस्रो चरणमा ७ वटा पालिकाका २४ वटा केन्द्रमा कक्षा १–३ का गणित शिक्षकलाई तालिम दिने कार्यक्रम तय गरिएको छ ।
निष्कर्ष
धादिङ जिल्लामा IBSE परियोजनाले शिक्षकहरूको व्यवहारिक क्षमता विकास, विद्यार्थीको सक्रिय सिकाइ तथा सहपाठी सिकाइ विधिको प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले बहुआयामिक गतिविधिहरू सञ्चालन गरिरहेको छ । यस परियोजनाले आधारभूत तहमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
परियोजनाको प्रारम्भिक चरणमै शिक्षक, विद्यालय र स्थानीय निकायहरूको सकारात्मक सहभागिता देखिएको छ । शिक्षकहरूलाई एकीकृत सिकाइ विधि र स्थानीय सामग्रीको प्रभावकारी प्रयोगका लागि निरन्तर सहयोग र मार्गदर्शन आवश्यक देखिन्छ ।
तालिम सामग्री र भिडियोहरूले शिक्षक पेशागत विकासको बलियो आधार तयार पार्ने सम्भावना देखिन्छ। साथै, पाठ अवलोकन, विद्यालय समन्वय तथा नियमित अनुगमनको अभ्यासले शिक्षण–सिकाइ प्रक्रियामा गुणात्मक सुधार ल्याइरहेको छ । धादिङमा सन् २०२४ देखि लगुभएको यो परियोजना २०२९ सम्म जारी रहने छ ।

