अनुशासनको पर्याय नै हो विजय

Avatar photo
Dhadingpost
साउन ३१, २०८२
  • विजयको अर्को लुकेको पाटो पनि छ । ऊ आफ्नै प्रकृतिको भए तापनि अरूले राम्रो भनेका कुरामा आफूलाई उभ्याउन निरन्तर कोसिस गर्छ। त्यही कोसिस नै आजको ऊ हो-शिक्षातर्फको हाकिम बनेको ।
  • दुई दिनको फरकमा विजयले दुई ठूला सफलता हात पारे। तीमध्ये एक रोज्नु पर्ने अवस्थामा उनले सङ्घीय विद्यालय निरीक्षक पद रोजे र आज सो पदमा नियुक्ति पाए।

२०७२ को भूकम्पपछिको दिन अझै स्पष्ट सम्झना छ। नेपाल रेडक्रस सोसाइटी धादिङमा नयाँ भलिन्टियरहरूसँग चिनजान र योजना बनाउनका लागि कार्यक्रम राखिएको थियो। म स्वयं रेडक्रससँग जोडिएको हुनाले शाखाका सभापति, मन्त्री र कोषाध्यक्षहरूसँग मेरो उठबस पहिलेदेखि नै थियो।

त्यो बेला रेडक्रसमा थुप्रै कार्यक्रमहरू चलेका थिए। हलुका आङ भएका, सजिला हात भएका युवाहरू पनि धेरै देखिन्थे। त्यही अवसरमा किरण, विजय, विजय थिङलगायत साँखु र धादिङबेसीका केही युवासँग मेरो परिचय भयो। त्यहाँ नारायणकुमार श्रेष्ठ र रामकुमार श्रेष्ठजस्ता स्थापित स्वयंसेवक पनि भेटिए। उनीहरू पहिले नै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएका रेडक्रसकर्मी रहेछन्।

नयाँ भलिन्टियरहरूमध्ये विजय लोबाङ मलाई विशेष देखिन्थे। सोझो स्वभाव, तर अरूले भन्नुअघि नै काम सुरु गरिहाल्ने बानी। त्यस्तै विजय थिङ पनि उत्तिकै चलाख र सक्रिय थिए। पछि मात्र थाहा भयो-विजय लोबाङ चिल्ड्रेन पार्क उच्च आवासीय माध्यमिक विद्यालयका विद्यार्थी रहेछन्।

रेडक्रसका तत्कालीन कोषाध्यक्ष दुर्लभ कुमार तामाङ मेरा अभिभावक हुनुहुन्थ्यो। अहिले पनि नेपाल सोसाइटी धादिङका सभापति हुनुहुन्छ।हामीहरूको उठबस बाक्लै थियो, किनभने उहाँको कान्छा छोरा अजय थिङ तामाङ मेरो विद्यालयका विद्यार्थी थिए। अजयको विषय फेरि कहिले लेखौँला, तर उनलाई भेट्न दुर्लभ सर प्रायः छात्रावास आइरहनुहुन्थ्यो। सँगै लुखुरलुखुर विजय लोबाङ पनि आउने गर्थे।

एक दिन दुर्लभ सरले मसँग प्रस्ताव राख्नुभयो। उहाँले भन्नुभयो-“यो विजयलाई पनि कतै हल्का-फुल्का काम लगाउनुपर्ने भयो।” उहाँले केही उपमा र विशेषणसहित विजयको विशेषता प्रस्तुत गर्नुभएको थियो। अमर्खु माध्यमिक विद्यालय जस्तो गरिमामय संस्थामा प्रधानाध्यापक भइसकेका दुर्लभ सरको प्रस्तुतिको शैली साँच्चै अभिभावकीय नै लाग्थ्यो। उहाँले राखेको प्रस्ताव शैली, ढङ्ग र रङ्ग सबै दृष्टिले सुसज्जित थियो।

तर पनि, त्यसअघि नै विजयले मेरो ध्यान खिचिसकेका थिए। सहजताको लागि म स्वयं अध्यक्ष रहेको निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) धादिङको कर्मचारीको रूपमा अति न्यून तलबमा विजयलाई राख्ने निर्णय गरेँ। स्वभावले कम बोल्ने, तर नियमकानुन मान्ने, नयाँ कुरा सिक्न खोज्ने, प्रविधिप्रति चासो राख्ने, भूकम्पको समयमा डिआरसी टिममार्फत चीनसम्म पुगिसकेका विजयलाई पाउनु मेरो लागि पनि अवसर नै थियो।

विजय प्याब्सनका कर्मचारी भए। म अध्यक्ष रहँदा प्याब्सनसँग सम्बन्धित धेरै काम-शिक्षकहरूको वृत्ति विकास, विद्यार्थीका कार्यक्रम, तिनीहरूलाई दिनुपर्ने खुराकका विषय, तालिम तथा गोष्ठीहरूको निरन्तर छलफल—सबैमा विजयले मलाई म जस्तै भएर सघाए।

जता जाँदा पनि, जुनसुकै अन्तरक्रियामा वा कार्यक्रममा पनि उनी लगभग प्याब्सनकै हर्ताकर्ता बनेर मैले अघि सारेँ। नत्र म आफैँ सफल हुने अवस्था नआउन पनि सक्थ्यो। हरेक अन्तरक्रिया, कार्यक्रम, गोष्ठी र सेमिनारमा उनको निरन्तरको सहभागिता सुरु भयो।

बिस्तारै, प्याब्सनको न्यूनतलबले मात्रै नहुने देखेर मैले उनलाई विद्यालय (एडभान्स) मा पनि शिक्षकको रूपमा राखेँ। केही साथीहरूले “प्याब्सनको कर्मचारी त खासै बोल्दैन, धेरै सघाउँदैन जस्तो लाग्छ” भनेर प्रतिक्रिया दिएका थिए। त्यतिबेला मैले उनको स्वभावबारे स्पष्ट पारेँ। अरूले “प्याब्सनको कर्मचारी विद्यालयमै लगेर राखेछ” भनेर भने पनि, मेरो उद्देश्य उसलाई नगुमाउनु थियो। किनभने प्याब्सनको तलबले मात्र उनको गुजारा चल्ने अवस्था थिएन।

प्याब्सनको पहिलो कार्यकालमा, संस्थाको बैठक मुनाल एकेडेमी गजुरीमा बसेर फर्किँदै गर्दा हामी दुई जना कालीदह नजिक मोटरसाइकल दुर्घटनामा पनि पर्यौँ। त्यो बेला मैले सबैभन्दा पहिले विजयलाई सोधेको थिएँ-“तिमीलाई कस्तो छ?”-किनभने उनको टाउकाबाट रगत बगिरहेको थियो। म प्राथमिक उपचारको प्रशिक्षक भए पनि त्यतिबेला हतास र अत्यासमा थिएँ। तर उनीमा त्यो बिलकुलै थिएन। उनले दिएको उत्तर थियो—“सर! म ठिक छु, तपाईँलाई अलि धेरै चोट छ।”

विजय मेरो लागि सानो भाईसरह थिए, कसैको नासो पनि। त्यसैले माया, सद्भाव र जिम्मेवार व्यवहार देखाउनु स्वाभाविक थियो। मैले त्यतिबेला उनलाई भनेको थिएँ-“नारायणलाई फोन गर।” उनी सजिलैसँग बोल्दै थिए। मलाई लाग्यो, उनले नारायणलाई फोन गरिरहेका छन्। तर पछि थाहा भयो—उनी दुर्लभ सरलाई फोन गरिरहेका रहेछन्। मैले पछि नारायणलाई खबर गरेँ र भनें-“हामी दुर्घटनामा पर्यौँ।”

कुरो एउटै ठाउँमा पुग्यो, तुरुन्तै सहयोग आयो र हामीलाई रेस्क्यु गरियो। त्यतिबेला पनि विजयको भूमिका साधारण स्वयंसेवकको जस्तो लागेन। आफैँ घाइते हुँदाहुँदै पनि उनले अभिभावकसरह व्यवहार गरे।

पछि एउटा साहित्यिक कार्यक्रममा जाने प्रसङ्ग बन्यो। सर्जकहरूको बीचमा जाँदा म प्रायः कविताहरू सार्दूलविक्रीडित छन्दमा वाचन गर्ने गर्थें। त्यही क्रममा विजयले गजल लेखेको रहेछ। साहित्यिक बसाइका क्रममा छन्दबारे विषयवस्तुहरू प्रस्तुत भए र छन्दका पारखीहरूले प्रशस्त बखान गरे। विजयलाई पनि छन्द मन परेको रहेछ। मलाई थाहा नै नदिई उसले केही कविताहरू छन्दमा लेखेको थियो।

म स्वयं अब्बल त थिइनँ, तर छन्दमा भत्किएका कुराहरू समेटेर सच्याइदिँदा उसलाई प्रोत्साहन मिल्थ्यो। मैले उसलाई भनेँ-“कविता त राम्रै लेख्ने रहेछौ, लेख्न नछोड्नू।” पछि उसले बेछन्द कविताहरू पनि असाध्यै राम्रो लेखेको देखेँ। छन्दका कविताहरू भने उसले जिल्लाका साहित्यिक मञ्चहरूमा प्रस्तुत गर्न थालेको थियो।

त्यतिबेलाको विद्यार्थी जीवनमा, तत्कालीन एसएलसीमा पहिलो श्रेणीमा उत्तीर्ण भएको विजय सधैं मेहनत गरेर पहिलो श्रेणीमै रहिरह्यो। साथीभाइबीच कहिल्यै नराम्रो नभएको, आफ्नै प्रकृतिको भए पनि अरूलाई सम्मान गर्ने उसको स्वभाव विजयको अर्को लुकेको पाटो थियो।

विजयको अर्को लुकेको पाटो पनि छ। ऊ आफ्नै प्रकृतिको भए तापनि अरूले राम्रो भनेका कुरामा आफूलाई उभ्याउन निरन्तर कोसिस गर्छ। त्यही कोसिस नै आजको ऊ हो-शिक्षातर्फको हाकिम बनेको।

सायद यसको प्रेरणाको स्रोत र उसको मनभित्रको आदर्श पात्र तत्कालीन समयका शिक्षाका हाकिम तथा रेडक्रसका मन्त्री कृष्णकुमार श्रेष्ठ पनि हुन सक्ने अनुमान गर्न सकिन्छ।

अन्तरङ्गमा कहिलेकाहीँ दुर्लभ सरसँग मेरो कुरा हुन्थ्यो। एकदिन हाँसीमजाकमै विजयको कुरा निस्कियो। दुर्लभ सरको विषय पस्कने शैली नै अद्वितीय छ। उहाँले विजयको कक्षा ३ पढ्दादेखिका सबै कुरा सुनाउनुभयो। कक्षा ४ मा अमर्खु माध्यमिक विद्यालयमा आएका विजयका दिदी–भाइमध्ये दिदी प्रथम र भाइ दोस्रो भएका रहेछन्। यति अब्बल विद्यार्थीहरू कक्षा ५ मा एक हप्तासम्म विद्यालय नआएपछि कक्षा शिक्षकले सो विषयमा जानकारी नदिएको भन्दै दुर्लभ सरले शिक्षकलाई नसिहत समेत गराउनुभएछ।

यसबाट विद्यालयको वातावरण कति महत्वपूर्ण छ भन्ने कुरा स्पष्ट हुन्छ। पछि अभिभावकलाई बोलाएर छलफल गर्दा निम्नवर्गीय परिवारमा परेको व्यवधानका कारण उनीहरू विद्यालय नआएको पत्ता लागेपछि दुर्लभ सरले विजयका अभिभावकलाई भन्नुभएछ-“यिनीहरूलाई विद्यालय नियमित पठाइदिनुहोस्, यसलाई लाग्ने खर्च म बेहोर्छु।” त्यही दिनदेखि विजयको प्रत्येक कदममा दुर्लभ सरको साथ रह्यो।

भगवान श्रीकृष्णलाई जन्म दिने आमा यशोदा नभई नन्द–यशोदाले लालनपालन गरेझैं, विजयलाई जन्म दिने बाआमा भए पनि लालनपालन दुर्लभ सरले गर्नुभयो। उहाँको अभिभावकीय छत्रछायामा हुर्किँदै आएको विजय अहिले धादिङभर चर्चामा आएको छ।

पछिल्लो हप्तामै, फेसबुकमा एकाएक खुसीको खबर आयो-दुई दिनभित्रै प्रदेशको कुनै गाउँपालिकामा शिक्षा शाखा प्रमुख र सङ्घको शिक्षा समन्वय इकाइको प्रमुख बन्ने गरी, लोकसेवा आयोगको दुई छुट्टै परीक्षा पास गरेको पात्र बने-विजय लोवाङ तामाङ।

मन परेका व्यक्तिलाई आदर्श बनाउने, र त्यही आदर्शलाई आफ्नै जीवनमा उतार्ने विजयको यो यात्राको नौलो प्रयोग हो। बहुआयामिक र बहुप्रतिभाशाली यो विद्यार्थी कलिलो उमेरमै स्वयंसेवक, प्याब्सन कर्मचारी, विद्यालय शिक्षक हुँदै सरकारी हाकिम बन्न पुग्यो।

अनुशासन नै उसलाई आजको उचाइमा पुर्याउने पहिलो भर्याङ हो। अनुशासनको पर्याय नै हो विजय। यसमा नन्दरूपी दुर्लभ सर, चिल्ड्रेन पार्क उच्च आवासीय विद्यालय, नेपाल रेडक्रस धादिङ, बहुमुखी क्याम्पस, प्याब्सन धादिङ र विशेषगरी एडभान्स एकेडेमी-सबै संस्थाहरू सारथी बने। यी सबै श्रेयका पात्र हुन्।

अब उसले नेतृत्व गर्ने सबै ठाउँमा उत्कृष्टता ल्याउन अवश्य लागिरहनेछ। र, एक दिन ऊ राष्ट्रसेवक कर्मचारीहरूको पनि अब्बल स्थानमा पुग्नेछ भन्नेमा मलाई दृढ विश्वास छ। विजयलाई आगामी भविष्य समुज्ज्वल रहोस् भन्ने हार्दिक शुभकामना!