सन्दर्भः विश्व स्तनपान सप्ताह-२०२५

Avatar photo
Dhadingpost
साउन २२, २०८२

परिचय
हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्ता (अगस्ट १ देखि ७ सम्म) “विश्व स्तनपान सप्ताह” (World Breastfeeding Week) को रूपमा विश्वभर मनाइन्छ । यो साता स्तनपानको महत्वलाई विश्व समुदायमा चेतना फैलाउनका लागि मनाइन्छ । सुत्केरी आमा र नवजात शिशुको लागि यो समय अत्यन्तै संवेदनशील हुन्छ । यस अभियानको मुख्य उद्देश्य स्तनपानको महत्त्वबारे जनचेतना फैलाउनु, आमाहरुलाई स्तनपानका फाइदाहरू बुझाउनु र स्वस्थ शिशु विकासलाई प्रवर्द्धन गर्नु हो। स्तनपान केवल पोषण मात्रै होइन, यो आमाको माया र स्नेहको प्रतिक पनि हो ।

स्तनपानको महत्त्व:
स्तनपान शिशुको लागि पहिलो पूर्ण आहार हो जसले शारीरिक, मानसिक र बौद्धिक विकासमा प्रभाव पार्दछ। जन्मेपछि पहिलो घण्टामा गरिने स्तनपान (पहिलो पहेंलो दूध – कोलोस्ट्रम) ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले नवजात शिशुलाई धेरै रोगबाट जोगाउँछ । आमाको दूधमा सबै प्रकारका पोषक तत्वहरू (प्रोटिन, भिटामिन, मिनरल्स आदि) पाइन्छन् जुन शिशुको सम्पूर्ण शारीरिक र मानसिक विकासका लागि अत्यावश्यक हुन्छ । स्तनपानले गर्भपछिको रक्तश्राव कम गर्दछ, गर्भाशय चाँडो सामान्य अवस्थामा फर्किन्छ, गर्भ रहनबाट अस्थायी सुरक्षा दिन्छ, स्तन क्यान्सर र डिम्बाशय क्यान्सरको जोखिम कम गर्छ, डायबेटिज र उच्च रक्तचापको जोखिम घटाउँछ, अतिरिक्त तौल घटाउन सहयोग गर्छ, मातृत्व सम्बन्ध बलियो बनाउँछ, समय र खर्चको बचत हुन्छ ।

सन् २०२५ को नारा र संदेश :
विश्व स्तनपान सप्ताह २०२५: “स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं” ।
संदेश :- आमालाई सहज र सुरक्षित रूपमा स्तनपान गराउन घर, समाज र संस्थाले मिलेर सहयोगी वातावरण बनाउनु आवश्यक छ जसले शिशुको स्वस्थ विकास सुनिश्चित गर्छ ।

नेपालमा स्तनपानको अवस्था:
नेपालमा धेरै महिलाहरूले स्तनपान गराउँछन्, तर अझै पनि समयमै स्तनपान सुरु नगर्ने, ६ महिनासम्मपूर्ण स्तनपान नगर्ने प्रवृत्ति देखिन्छ । यसले गर्दा शिशुमा कुपोषण, रोग र विकासको समस्या देखिन्छ। त्यसैले स्वास्थ्य संस्थाले स्तनपानसम्बन्धी परामर्श तथा समर्थन प्रदान गर्नुपर्छ ।

NDHS २०२२ को स्तनपान सम्बन्धी प्रमुख तथ्यांकहरू:
क. ६ महिनाको लागि निर्वाध स्तनपान (Exclusive Breast feeding): ५६ % (२०१६ मा ६६ % बाट घटेको स्थिति छ)
ख. २४‑घण्टा आधारित निर्वाध स्तनपान प्रचलन (EBF prevalence): ५५ %
नेपालले २०३० सम्म ९० % निर्वाध स्तनपान (Exclusive Breast feeding) दर हासिल गर्ने लक्ष्य राखेको छ ।

स्तनपानमा परिवार, समाज र स्वास्थ्यकर्मीको भूमिका:
स्तनपान सफल पार्न आमाको मात्र होइन, परिवार, श्रीमान, स्वास्थ्यकर्मी तथा समुदायको समर्थन तथा भूमिका आवश्यक हुन्छ ।
क. परिवारको साथ: घरको काममा सहयोग, मानसिक समर्थन र समय दिनुले आमालाई सहज रूपमा स्तनपान गर्न प्रेरित गर्दछ ।
ख. समाजको साथ: आमाहरुलाई स्तनपान गराउन प्रोत्साहन दिने र सकारात्मक वातावरण बनाउनु पर्छ ।
ग. स्वास्थ्यकर्मीको सहयोग: स्वास्थ्यकर्मीले सुत्केरी आमालाई स्तनपानका तरिका, समय र सावधानी बारे जानकारी दिनुपर्छ ।

स्वास्थ्य संस्था स्तरमा गर्नुपर्ने भूमिका:-
१. प्रारम्भिक स्तनपान प्रोत्साहन:

  • जन्मपश्चात् पहिलो घण्टाभित्र स्तनपान सुरु गराउनु ।
  • सुत्केरी आमाहरुलाई स्तनपानका फाइदाबारे जानकारी दिनु ।

२. स्तनपान सल्लाह (Counselling) सेवा:

  • स्तनपान सम्बन्धि सल्लाह र स्तनपान गराउदा आउने समस्याहरूको समाधान गर्ने सल्लाह उपलब्ध गराउने ।

३. सुत्केरी र प्रसूति सेवामा स्तनपान समावेश:

  • प्रत्येक सुत्केरी महिलालाई डिस्चार्ज हुनु अघि स्तनपान सम्बन्धी सल्लाह अनिवार्य दिने ।
  • संस्थागत डेलिभरी सेवामा स्तनपानको अभ्यास अनिवार्य गर्नु ।

४. सञ्चार सामग्री र जनचेतना:

  • स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पतालहरूमा पोस्टर, पम्प्लेट, भिडियो आदि मार्फत जानकारी दिनु ।
  • समुदायस्तरमा आमाहरुका लागि “स्तनपान शिक्षा सत्र” सञ्चालन गर्नु ।

५. डाटा संकलन र अनुगमन:

  • स्तनपानको अवस्था नियमित रुपमा निगरानी (monitoring) गर्ने र रिपोर्ट तयार पार्ने ।
  • सेवा सुधारका लागि नियमित समीक्षा बैठक सञ्चालन गर्ने ।

स्थानीय तह (गाउँपालिका/नगरपालिका) को भूमिका:-
१. नीति निर्माण र बजेट व्यवस्था:

  • स्तनपान प्रवर्द्धनका लागि छुट्टै नीति, कार्ययोजना र बजेट विनियोजन गर्ने ।
  • मातृ–शिशु पोषण कार्यक्रमलाई प्राथमिकतामा राख्ने ।

२. स्तनपानमैत्री वातावरण निर्माण:

  • कार्यस्थल, सार्वजनिक स्थल र स्वास्थ्य संस्था परिसरमा स्तनपान कक्ष (Breastfeeding Corner) को व्यवस्था गर्नु ।
  • स्तनपानको लागि अनुकूल कार्य समय र विश्रामको अवसर सुनिश्चित गर्ने ।

३. सामुदायिक सचेतना अभियान:

  • महिला स्वयंसेविका, स्वास्थ्यकर्मी र सामाजिक अभियन्ताहरुको सहकार्यमा घर–घरमा स्तनपानको महत्व बारे जानकारी फैलाउने ।
  • विद्यालय, टोल विकास संस्था र आमा समूहहरुमा स्तनपान सम्बन्धी छलफल आयोजना गर्ने ।

४. मानव स्रोत तथा तालिम:

  • स्वास्थ्यकर्मी, स्वयंसेविका तथा समुदायिक प्रतिनिधिहरुलाई स्तनपान सम्बन्धी तालीम प्रदान गर्ने ।

५. सहयोग र अनुगमन:

  • स्वास्थ्य संस्था र समुदायबीच समन्वय गरी स्तनपान कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्ने ।
  • नियमित सुपरिवेक्षण र प्रोत्साहन प्रणाली अपनाउने।

निष्कर्ष:
स्तनपान केवल शिशुका लागि पोषण होइन, यो भविष्यको स्वस्थ नागरिक निर्माणको जग हो, यो आमा–शिशुबीचको माया र सुरक्षाको पहिलो कडी हो । यो शिशुको जीवनको सुरुवात हो जसले स्वस्थ भविष्य सुनिश्चित गर्दछ । सन्तुलित विकास, सशक्त समाज र स्वस्थ राष्ट्र निर्माणको जग स्तनपानबाटै सुरु हुन्छ । यसको अभ्यास वृद्धि गर्न स्वास्थ्य संस्थाले सेवा प्रवाहमा गुणस्तर कायम राख्नुपर्छ भने स्थानीय तहले नीति, स्रोत र समन्वयको जिम्मेवारी लिनुपर्छ । हामी सबैको सहकार्यले मात्र स्तनपान अभ्यासमा सुधार ल्याउन सकिन्छ । यस “विश्व स्तनपान सप्ताह” मा हामी सबैले स्तनपानलाई प्रवर्द्धन गर्ने प्रण गरौं,आमाहरुलाई साथ दिऊ , शिशुको भविष्य उज्यालो बनाउँ ।“आमाको दूध : पहिलो खोप, पहिलो सुरक्षा ” ।

(लेखकः दिनेश बसौला त्रिपुरासुन्दरी गाउँपालिका धादिङको जनस्वास्थ्य निरिक्षक हुन् भने हाल पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साईन्सेस् मा जनस्वास्थ्य संकायमा स्नातक तह (BPH) मा अध्ययनरत विद्यार्थी हुन् ।)